हेटौँडा: सधैँ अन्य जनावरहरूको शिकार गर्ने बाघलाई यो पटक भैंसीको प्रतिकारले जीवन गुमाउन बाध्य बनाएको छ। मकवानपुरको मनहरी गाउँपालिकामा बिहीबार बिहान ३ बजे गोठमा पसेको बाघ भैंसीको आक्रमणमा परी मृत फेला परेको हो।
मनहरी-६, प्रतापपुरमा स्थानीय बलबहादुर राईको गोठमा शिकारको खोजीमा आएको बाघको आक्रमणबाट भैंसी पनि घाइते भएको छ। इलाका प्रहरी कार्यालय मनहरी र पर्सा वन्यजन्तु आरक्ष सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले घटनास्थलमा पुगेर बाघको मृत शरीरलाई नियन्त्रणमा लिएको छ।
वडाध्यक्ष युवराज थपलियाका अनुसार बाघ बूढो र विरामीसमेत रहेकोले गोठको साँघुरो स्थानमा भैंसीको प्रतिकार गर्न नसकी मारिएको हो। मृत बाघलाई चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेन सन्त मगरको नेतृत्वमा रहेको टोलीले निकुञ्जमा लगेको छ।
यस घटनाले प्रकृतिमा पनि घमण्ड र आक्रमणको बलको सीमा हुने र कहिलेकाहीँ शिकार गर्न खोज्ने आफैँ संकटमा पर्न सक्ने संकेत गरेको छ।
- Jigyasa media