काठमाडौं । आज सोमबार सुदूरपश्चिम, कर्णाली र अन्य पहाडी क्षेत्रमा बदली र वर्षाको सम्भावना रहेको छ। बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा तथा कोशी प्रदेशको पहाडी क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षा हुनेछ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा मध्यम हिमपातको सम्भावना छ। त्यस्तै, गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी क्षेत्रमा पनि हल्कादेखि मध्यम हिमपात हुने अनुमान गरिएको छ।
रातिको पूर्वानुमान
राति कर्णाली, सुदूरपश्चिम, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुनसक्नेछ। गण्डकी, बागमती, र कोशी प्रदेशका उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ।
पर्यटक तथा स्थानीयले हिमाली र उच्च पहाडी क्षेत्रमा यात्रा गर्दा सतर्कता अपनाउनु पर्ने महाशाखाले सल्लाह दिएको छ। वर्षा र हिमपातले जनजीवन प्रभावित गर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।
- Jigyasa media