झापा ।
रामेछापको मन्थलीबाट काँकडभिट्टा जाँदै गरेको यात्रुबाहक रात्रिबस आज बिहान झापाको शिवसताक्षी नगरपालिका–१०, माईधार चोक नजिक दुर्घटनाग्रस्त भएको छ। बस पल्टिँदा १९ जना यात्रु घाइते भएका छन्।
प्रहरीका अनुसार प्र.१–०१–००१क ४२०९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिएको हो। बिहानको समयमा भएको उक्त दुर्घटनामा घाइते भएका सबैलाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड पठाइएको छ। बाँकी ६ जना यात्रु भने सकुशल रूपमा आफ्नो गन्तव्यतर्फ गएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का का अनुसार दुर्घटनाग्रस्त बसमा करिब २५ जना यात्रु सवार थिए। दुर्घटनापछि सडकमा यातायात सञ्चालनमा अवरोध नरहेको पनि प्रहरीले जनाएको छ।
घाइतेहरूको विवरण
दुर्घटनामा बस चालक राजु भुजेल (३९, मेचीनगर–६) सहित इक्षा लिम्बू (१७, झापा गाउँ–३), रविलाल गणेश (२०), परिना गणेश (२१, कचनकवल–४), सिमित्रा खड्का कार्की (३६, बिर्तामोड–१०) र उनको छोरा एलोन (९) घाइते भएका छन्।
त्यस्तै, अम्बरबहादुर बुढाथोकी (६५, मन्थली–१०), भीमप्रसाद पुरी (३५, मन्थली–९), मिटु खत्री (६५, खाँडादेवी–३), प्रदीपबहादुर बस्नेत (३०, बैनेश्वर–३), अनु श्रेष्ठ (८, देउराली) र कुमार बस्याल (२८, तामाकोसी–३) पनि घाइते भएका छन्।
त्यसैगरी, भेमा राजवंशी (२७, कचनकवल–६), रामकुमार श्रेष्ठ (३५, बिर्तामोड–५), उनका छोरा रिदम (९), पूर्णबहादुर नेपाली (२३), शितल नेपाली (१८, बिर्तामोड–५), अभिषेक राजवंशी (२१, बाह्रदशी–५) र श्यमलाल किस्कु (१८, झापा गाउँ–२) घाइते भएको प्रहरीले जनाएको छ।
अवस्था र अनुसन्धान
प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको छ र सबैको उपचार भइरहेको छ।
बस अनियन्त्रित भई पल्टिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यससँगै पछिल्ला दिनमा मुलुकका विभिन्न भागमा भइरहेका सडक दुर्घटनाले यातायात सुरक्षा र चालक सर्तकता सम्बन्धी प्रश्न पुनः उठाएको छ।
-
Jigyasanepal