Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

आज माघे सङ्क्रान्ति: सूर्य उत्तरायण प्रवेशसँगै देशैभर सार्वजनिक बिदा

  •   ८ महिना अघि | १ माघ २०८२, बिहिबार

काठमाडौँ

आज माघ १ गते बिहीबार देशैभर माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) पर्व श्रद्धा, आस्था र उत्साहका साथ मनाइँदैछ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनलाई मकर अथवा माघे सङ्क्रान्तिका रूपमा मनाउने गरिन्छ। यसै अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।

माघ १ गतेदेखि सूर्य उत्तरायण प्रवेश गर्ने भएकाले अब दिन क्रमशः लम्बिँदै जाने र रात छोटिँदै जाने धार्मिक विश्वास छ। उत्तरायण सुरु हुने दिन स्नान, जप, तप, ध्यान, व्रत तथा दानलाई अत्यन्तै पुण्यदायी मानिन्छ।

तीर्थस्थलमा माघ स्नानको भीड, विशेष मेला आयोजना

माघे सङ्क्रान्तिका अवसरमा आज देशभरका प्रमुख तीर्थस्थलहरू—देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका नदी संगम क्षेत्रमा माघ स्नान गर्ने श्रद्धालुहरूको घुइँचो लागेको छ। यी स्थानहरूमा आज विशेष मेलासमेत आयोजना गरिन्छ।

तराईमा ‘नहान’ पर्व, अनिवार्य स्नानको मान्यता

तराई क्षेत्रका बासिन्दाले माघ १ गतेलाई ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा मनाउने गर्दछन्। वर्षभर विभिन्न कारणले नियमित स्नान गर्न नपाएका तराईवासीले आजको दिन अनिवार्य रूपमा स्नान गर्नुपर्ने धार्मिक–सांस्कृतिक मान्यता राख्छन्।

तिल दान र पुण्यको विश्वास

बिहानै तीर्थस्थल पुगेर स्नान गरी तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने विश्वास छ। धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार धर्मसिन्धु ग्रन्थमा माघ १ गते घ्यू, चाकु, तिलका परिकार तथा खिचडी नखाने, दान नगर्ने, जलाशयमा स्नान नगर्ने र ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको छ।

घ्यू, चाकु, तिल र तरुलको विशेष महत्व

माघे सङ्क्रान्तिमा घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो र खिचडी खाने परम्परा छ। चिसो मौसममा शरीरलाई न्यानो राख्न सहयोग गर्ने यी परिकारले त्रिदोष नाश गर्ने आयुर्वेद चिकित्सकहरूको भनाइ छ।

कतिपय ठाउँमा तरुल पुसको अन्तिम दिन पकाएर राखी माघमा खाने चलन छ, जसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रूपमा पनि प्रयोग गरिन्छ।

तिलको तेल मालिस र स्वास्थ्य विश्वास

आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा शरीरका दूषित पदार्थ बाहिर निस्कने विश्वास छ। आयुर्वेद शास्त्रअनुसार यसले नाडी, स्नायुमण्डल र हड्डीलाई सुदृढ तथा स्वस्थ राख्न मद्दत गर्छ।

उत्तरायणपछि मृत्यु उत्तम मानिने धार्मिक विश्वास

धार्मिक विश्वासअनुसार सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ। महाभारतकालीन पात्र भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायण भएपछि नै देह त्याग गरेको कथा यससँग जोडिन्छ। आज भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि विशेष मेला लाग्ने गर्छ।

माघ महिना र स्वस्थानी व्रतको महत्व

माघ महिनामा माघमाहात्म्यको विशेष महत्व रहन्छ। स्कन्द पुराणको माघ माहात्म्य अन्तर्गत केदारखण्डमा कुमार र अगस्त्यबीच भएको संवाद—स्वस्थानी व्रतकथा—पौष शुक्ल पूर्णिमादेखि सुरु भई माघ शुक्ल पूर्णिमासम्म सुनिने–सुनाइने परम्परा छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष पौष शुक्ल पूर्णिमा अर्थात् पुस १९ गतेदेखि श्री स्वस्थानी व्रतकथा सुरु भइसकेको छ। चान्द्रमासअनुसार माघ महिनाभर स्नान गरी मध्याह्नकालमा श्रीमहादेवको पूजाआराधना गर्ने परम्परालाई माघस्नान पनि भनिन्छ।

राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाइँदै

माघे सङ्क्रान्तिको अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउँदैछ। माघ १ गते तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गर्ने परम्परालाई ध्यानमा राख्दै गत वर्षदेखि यो दिवस मनाउन थालिएको हो।

माघे सङ्क्रान्तिले धार्मिक, सांस्कृतिक र स्वास्थ्यका दृष्टिले मात्र होइन, सामाजिक सद्भाव र परम्पराको निरन्तरताको सन्देश पनि बोकेको छ।

  • Jigyasanepal

थप