मंसिर ९, काठमाडौं - विश्वका प्रख्यात उद्यमी तथा टेस्ला, स्पेस एक्स र एक्स एआईका मालिक एलन मस्क मानव इतिहासकै धनी व्यक्ति बन्न सफल भएका छन्। फोर्ब्सका अनुसार मस्कको कुल सम्पत्ति ३ खर्ब ३४ अर्ब ३० करोड अमेरिकी डलर पुगेको छ, जसले उनलाई आधुनिक युगका धनी व्यक्तिमात्र होइन, इतिहासमै सबैभन्दा धनी व्यक्तिको रूपमा स्थापित गरेको छ।
मस्कको यो उपलब्धिमा उनको विद्युतीय कार कम्पनी टेस्लाको शेयर मूल्यमा उल्लेखनीय वृद्धिले महत्त्वपूर्ण योगदान गरेको छ। हालैको रिपोर्टअनुसार, टेस्लाको शेयर मूल्य ३५२ डलर नाघेको छ, जसले उनको सम्पत्तिमा एकै दिन ७ अर्ब डलरको वृद्धि गराएको हो।
स्पेस एक्स र एआईले पनि वृद्धि गरे सम्पत्ति
एलन मस्कको सम्पत्तिको ठूलो हिस्सा टेस्लाका १३ प्रतिशत शेयरबाट आएको हो। त्यस्तै, उनको अन्तरिक्ष कम्पनी स्पेस एक्सको बजार मूल्य २ खर्ब १० अर्ब डलर रहेको छ, जसमा मस्कको ४२ प्रतिशत हिस्सेदारी छ। साथै, उनको एआई कम्पनी एक्स एआईको मूल्य ५० अर्ब डलर पुगेको छ, जसले उनको सम्पत्ति वृद्धिमा थप योगदान गरेको छ।
प्रतिस्पर्धीभन्दा धेरै अगाडि
मस्क अहिले विश्वका दोस्रो धनी व्यक्ति ल्यारी इलिसनभन्दा ८० अर्ब डलरले अगाडि छन्। उनको यो अग्रता न केवल टेस्लाको शेयर मूल्य वृद्धिले आएको हो, तर पछिल्लो समय अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्पको विजयसँग पनि जोडिएको छ।
ट्रम्पसँगको सम्बन्धले लगानीकर्ताको मनोबल बढायो
डोनाल्ड ट्रम्पका कट्टर समर्थक मानिने मस्कका लागि आगामी ट्रम्प प्रशासनले अनुकूल नीति ल्याउने अपेक्षा गरिएको छ। यसले टेस्ला र अन्य कम्पनीहरूलाई फाइदा पुर्याउने विश्लेषण गरिएको छ, जसले मस्कप्रति लगानीकर्ताको विश्वास बढाएको देखिन्छ।
एलन मस्कको यो उपलब्धिले विश्वव्यापी बजारमा नयाँ उत्साह थपेको छ। उनी आगामी दिनमा आफ्ना कम्पनीहरूमार्फत थप उपलब्धि हासिल गर्न सक्ने अपेक्षा गरिएको छ।
- Jigyasa media