सोलुखुम्बु, भदौ १ ।- सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले थामे क्षेत्रमा बाढीको जोखिम अझै कायम रहेको बताएका छन्। उनले शुक्रबार दुईवटा हिमताल फुट्दा बाढी आएको पुष्टि गर्दै, त्यहाँ अझै पनि थप बाढीको खतरा रहेको जनाएका छन्।
प्रजिअ पाण्डेले भने, “रक्षामन्त्री मानवीर राई र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसहितको टोलीले आज क्षतिग्रस्त थामे क्षेत्रको हवाई निरीक्षण गरे। निरीक्षणपछि हिजो दुईवटा हिमताल फुटेकाले बाढी आएको पुष्टि भएको छ, र सो क्षेत्रमा अझै पनि जोखिम कायमै छ।”
हिमतालहरूको अवस्था
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार, थामे क्षेत्रमा रहेका पाँचवटा हिमतालमध्ये शुक्रबार दुईवटा विस्फोट भएको र बाँकी तीन हिमतालमध्ये एउटा सुरक्षित भए पनि बाँकी दुईवटा अझै पनि जोखिममा रहेको जानकारी प्राप्त भएको छ। खुम्बुसहित तल्लो सोलुमा पनि बाढीको उच्च जोखिम रहेकाले त्यहाँका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
तापक्रम र जलवायु परिवर्तनको असर
जल तथा मौसम विज्ञान विभागका अनुसार, थामे क्षेत्रमा साउन २५ गतेदेखि दैनिक औसत तापक्रम बढेको थियो, जसले गर्दा हिमतालहरूमा विस्फोट भएको हुनसक्ने अनुमान गरिएको छ। शुक्रवार तापक्रम बढेर १५.९ डिग्री सेल्सियस पुगेको थियो। जलवायु जानकार राजन थापाले हिमाली क्षेत्रमा तापक्रम अस्वाभाविक रूपमा बढ्दै जाँदा हिमतालहरू जोखिममा रहेको बताएका छन्।
बाढी पीडितलाई राहत वितरण
बाढी पीडित खुम्बु पासाङल्हामु गाउँपालिका–३ थामेवासीलाई संघ र स्थानीय सरकारको तर्फबाट राहत वितरण गरिएको छ। प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार, नेपाली सेनाको हेलिकप्टरमार्फत रक्षामन्त्री मानवीर राईको नेतृत्वमा प्रभावित क्षेत्रमा नगदसहित राहत प्रदान गरिएको हो। जिल्ला दैविक प्रकोप उद्धार कोषबाट १३ घर परिवारलाई प्रतिपरिवार नगद रु १५ हजार र तीन–तीन थान त्रिपाल वितरण गरिएको छ भने स्थानीय सरकारको तर्फबाट १५ परिवारलाई रु ५० हजारका दरले वितरण गरिएको छ।
बाढीका कारण भएको क्षति र जोखिम
बाढीका कारण खुम्बु र तल्लो सोलुको सिधा सडक सञ्जाल टुटेको छ भने खुम्बु पासाङल्हामु गाउँपालिका र माप्यदूधकोशी गाउँपालिकाको सिमानामा पर्ने मितेरी पुलमा पनि क्षति पुगेको छ। पुलको एकतर्फको भाग कटान हुँदा सल्लेरीबाट खुम्बु जोड्ने एकमात्र सडक सञ्जाल अवरुद्ध भएको छ। साथै, फाक्दिङदेखि नाम्चे जाने पदमार्ग कटान हुँदा तल्लो क्षेत्रबाट सगरमाथा क्षेत्रमा आवतजावत टुटेको छ।
बाढीको कारण खुम्बुमा विद्युत् सेवा अवरुद्ध भएको छ, जसले सञ्चार सेवामा पनि समस्या उत्पन्न गरेको छ। हिमताल फुट्ने खतरा अझै पनि रहेकोले जनजीवनमा थप कठिनाइ थपिएको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताएका छन्।
उद्धार प्रयास जारी
नेपाली सेनाले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा प्रभावित स्थानबाट सातजनाको सकुशल उद्धार गरेको जनाएको छ। प्रभावित इलाकामा अस्थायी पुल निर्माण गरी सुरक्षित ठाउँमा स्थानान्तरणको काम जारी रहेको छ।
– रासस
- Jigyasa media