काठमाडौं । अमेरिकाको टेक्सस राज्यको ह्युस्टन शहरमा अध्ययनरत एक नेपाली विद्यार्थीको गोली हानी हत्या भएको छ। भोजपुरकी करिब २१ वर्षीया मुना पाण्डे, जो ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन्, उनको ह्युस्टनको हिलक्रप्ट क्षेत्रमा रहेको अपार्टमेन्टमा गोली लागेर मृत्यु भएको हो।
नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले जानकारी दिए अनुसार मुनाको शव छातीमा गोली लागेको अवस्थामा फेला परेको हो। मुनाले एफ वान भिसामा इन्टरनेशनल स्टुडेन्टका रूपमा सन् २०२१ मा अमेरिका प्रवेश गरेकी थिइन्।
घटनाको दिन सोमबार अपराह्न, अपार्टमेन्टका कर्मचारीहरूलाई एक अज्ञात व्यक्तिले फोन गरेर कोठाभित्र शव रहेको जानकारी दिएको थियो। सूचना पाउनासाथ, अपार्टमेन्टका कर्मचारीहरूले प्रहरीलाई खबर गरे। प्रहरीको टोलीले घटनास्थलमा पुग्दा मुनाको मृत शरीर फेला परेको थियो।
प्रहरीले घटनाको अनुसन्धान जारी रहेको बताएको छ। ह्युस्टनको नेपाली समुदाय र मुनाको परिवारमा शोकको लहर छाएको छ। यस घटनाले अमेरिकामा रहेका नेपाली विद्यार्थीहरूको सुरक्षाप्रति गम्भीर प्रश्न खडा गरेको छ।
- Jigyasa media