इस्लामाबाद, पुस २७ । पाकिस्तानको राजधानी इस्लामाबादमा विवाह समारोह सम्पन्न भएपछि एक घरमा भएको ग्यास सिलिन्डर विस्फोटमा बेहुला–बेहुलीसहित कम्तीमा आठ जनाको ज्यान गएको छ। आइतबार बिहान अचानक भएको विस्फोटका कारण घरको केही भाग भत्किँदा घटनास्थलमै मृत्यु भएको प्रहरी र सरकारी अधिकारीहरूले पुष्टि गरेका छन्।
इस्लामाबाद प्रहरीका अनुसार विवाहको रिसेप्सन सम्पन्न भएपछि दुलहा–दुलही र पाहुनाहरू सोही घरमै सुतेका थिए। बिहानै भएको शक्तिशाली विस्फोटले घरको संरचना भत्किँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको हो।
विस्फोटमा परी सात जना गम्भीर घाइते भएका छन्। उनीहरूलाई नजिकैका अस्पतालमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीद्वारा जारी विज्ञप्तिमा विस्फोट सहरको केन्द्रमा रहेको घना आवासीय क्षेत्रमा भएको उल्लेख गरिएको छ।
घटनापछि सुरक्षाकर्मी, उद्धार टोली र दमकल विभाग तत्काल घटनास्थलमा पुगेका थिए। खोज तथा उद्धार कार्य सञ्चालन गर्दा विस्फोटको असर नजिकका केही घरहरूमा समेत परेको पुष्टि भएको छ।
एक सरकारी प्रशासक साहिबजादा युसुफले आइतबार बिहान विस्फोट भएको जानकारी पाएलगत्तै सम्बन्धित निकायलाई सतर्क गराइएको र घटनाको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरिएको जानकारी दिए।
प्रारम्भिक अनुसन्धानअनुसार ग्यास सिलिन्डरबाट ग्यास चुहावट भई विस्फोट भएको आशङ्का गरिएको छ। यस दुःखद घटनाप्रति पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाएकाहरूका परिवारप्रति समवेदना प्रकट गरेका छन्।
प्रधानमन्त्री सरिफले घाइतेहरूको निःशुल्क र उत्तम उपचार सुनिश्चित गर्न स्वास्थ्य अधिकारीहरूलाई निर्देशन दिनुका साथै घटनाबारे पूर्ण र निष्पक्ष अनुसन्धान गर्न आदेश दिएका छन्।
पाकिस्तानमा प्राकृतिक ग्यासको चाप न्यून रहने समस्याका कारण धेरै घरपरिवारहरू एलपिजी ग्यास सिलिन्डर प्रयोग गर्न बाध्य छन्। तर ग्यास चुहावट, अव्यवस्थित भण्डारण र लापरबाहीका कारण यस्ता सिलिन्डरबाट हुने घातक दुर्घटनाहरू यसअघि पनि दोहोरिँदै आएका छन्। प्रहरीले घटनासम्बन्धी अनुसन्धान जारी रहेको जनाएको छ।
(रासस/एपी)
-
Jigyasanepal