रसुवा ।
दसैँको रमाइलो मौसममा साहसिक यात्रामा निस्केका भक्तपुरका चार युवाको जीवन बाढीले लत्याएको दस दिन नाघिसक्दा पनि उनीहरूको अवस्था अझै अज्ञात छ।
भदौ १८ गते साँझ रसुवाको गोसाइकुण्ड गाउँपालिका–४ स्थित बेरिङ खोल्सीमा आएको भीषण बाढीले उनीहरूलाई बगाएको थियो। आजसम्म पनि उनीहरूको खोजी कार्य निरन्तर जारी छ, तर कुनै अत्तोपत्तो लागेको छैन।
भक्तपुरबाट भदौ १७ गते लाङटाङ पदयात्राका लागि निस्किएका १६ जनामध्ये १२ जना सुरक्षित भए पनि बाँकी ४ जना—संगीता श्रेष्ठ (२६), संस्कृति श्रेष्ठ (२४), किसन श्रेष्ठ (२०) र रवि श्रेष्ठ (२३) बाढीमा परेर बेपत्ता भएका हुन्।
चारै जना भक्तपुरका स्थायी बासिन्दा हुन् — तीन दिदीबहिनीभाइ सूर्यविनायक–४ दधिकोटका र रवि भक्तपुर नगरपालिका–१० का।
दसौँ दिन पनि खोजी जारी
रसुवाका सहायक जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीका अनुसार, १९ गतेबाट सुरु गरिएको खोजी अभियान आज पनि जारी छ। मंगलबारसम्म नेपाल आर्मी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय स्वयंसेवकहरू सहितको १०५ सदस्यीय टोली घटनास्थलमा परिचालन गरिएको छ।
अधिकारीका शब्दमा, ‘हामीले दैनिक रूपमा खोजीकार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेका छौं। आज पनि डीएसपी, सीडियोज्यू स्वयम् स्थलमै खटिनुभएको छ, तर अहिलेसम्म पनि बेपत्ताहरूको कुनै अत्तोपत्तो लाग्न सकेको छैन।’
बाढीको क्षणमै घटेको त्रासदी
घटनास्थलमा उपस्थित यात्रु सनिता श्रेष्ठका अनुसार, १६ जनामध्ये १२ जना बेरिङ खोल्सी तरेर पार पुगेका थिए। तर, एक्कासी आएको बाढीले बाँकी ४ जनालाई बगायो।
सनिताले बताइन्, ‘हामी खोल्सी तरेर अलिकति माथि पुगेका थियौं, केही सेकेन्डमै ठूलो बाढी आयो। चिच्याउने समय पनि पाइएन, पानीले सबै बगायो।’
परिवारको पीडा र प्रतीक्षा
भक्तपुरस्थित दधिकोटमा अहिले शोक र आशंकाको वातावरण छ। आफन्तहरू प्रत्येक समाचार च्यानल, रेडियो र सामाजिक सञ्जालमा नयाँ जानकारीको प्रतीक्षामा छन्। संगीता, संस्कृति, किसन र रबिका परिवारजन भन्छन् — “सुरक्षाकर्मीले आशा नत्यागेसम्म हामीले पनि आशा त्याग्दैनौं।”
-
Jigyasanepal