काठमाण्डौ ।
उखु किसानले वर्षौंदेखि गर्दै आएको मूल्य समायोजनको मागका बीच सरकारले यस वर्षका लागि उखुको न्यूनतम खरिद मूल्य सार्वजनिक गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ तोकेको सरकारका प्रवक्ता तथा सूचना–सञ्चार मन्त्री जगदीश खरेलले जानकारी दिए।
मन्त्री खरेलका अनुसार किसानहरूको मागलाई मध्यनजर गर्दै यस वर्षको मूल्य निर्धारण गरिएको हो। मूल्य घोषणासँगै सरकारले उखु किसानलाई थप राहत दिने उद्देश्यले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान प्रदान गर्ने निर्णय पनि गरेको छ।
यससँगै किसानले प्रतिक्विन्टल उखुमा कुल ६९० रुपैयाँ पाउने छन्—जसमध्ये ६२० रुपैयाँ चिनी उद्योगले भुक्तानी गर्नेछ भने ७० रुपैयाँ सरकारले अनुदानस्वरूप उपलब्ध गराउनेछ।
उखु मूल्य घोषणा भएका कारण अब देशभरका किसानले आफूले उत्पादन गरेको उखुको उचित मूल्य पाउने अपेक्षा राखेका छन्। सरकारको यो निर्णयले लामो समयदेखि लागत वृद्धि र भुक्तानी ढिलाइका कारण मारमा परिरहेका किसानलाई केही हदसम्म राहत मिल्ने देखिएको छ।
-
Jigyasanepal