काभ्रे । एम्नेष्टी अन्तर्राष्ट्रिय समूह ७२ पनौतीले पनौती नगरपालिकाभित्रका विद्यालयहरूलाई लक्षित गर्दै विद्यालयस्तरीय मानव तथा बाल अधिकार शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ। सोही कार्यक्रमअन्तर्गत मिति २०८२ साल पौष ४ गते पनौती नगरपालिका–१, कुशादेवीस्थित माध्यमिक विद्यालयहरूमा कार्यक्रमको तेस्रो चरण सुरु गरिएको हो।
एम्नेष्टी अन्तर्राष्ट्रिय नेपाल मानव अधिकार संरक्षण, प्रवर्द्धन तथा समावेशी सामाजिक जनचेतना अभिवृद्धिमा सक्रिय अन्तर्राष्ट्रिय संस्था भएकाले समूह ७२ पनौतीले नगरभित्रका सबै विद्यालयमा मानव अधिकारसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको जनाएको छ।
यस चरणमा कुशादेवी–१ मा अवस्थित भालाचन्द्र माध्यमिक विद्यालय र शान्ति निकेतन माध्यमिक विद्यालयका शिक्षक तथा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई मानव तथा बाल अधिकारसम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रममा दुवै विद्यालयका शिक्षकसहित छात्र–छात्रा गरी १२० जनाभन्दा बढीको सक्रिय सहभागिता रहेको थियो।
प्रशिक्षण कार्यक्रममा एम्नेष्टी समूह ७२ की संयोजक अधिवक्ता जमुना पस्छे र अधिवक्ता तारा श्रेष्ठले वर्तमान सन्दर्भमा मानव अधिकार र बाल अधिकारको महत्व, कानुनी व्यवस्था तथा व्यवहारिक पक्षबारे प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रममा एम्नेष्टी समूह ७२ का सह–सचिव सन्तोष हुमागाईं, कोषाध्यक्ष रामकुमार बस्नेत तथा अधिवक्ता तारा श्रेष्ठको उपस्थिति रहेको थियो। विद्यालयतर्फबाट भालाचन्द्र माविका प्रधानाध्यापक चन्द्रप्रसाद तिमल्सिना र शान्ति निकेतन माविका प्रधानाध्यापक लक्ष्मण बञ्जारा, शिक्षक–शिक्षिकाहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको समापनमा प्रधानाध्यापकहरूले एम्नेष्टी समूहप्रति धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा अधिकार, कर्तव्य र कानुनी चेतना अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। सहभागी विद्यार्थीहरूले पनि कार्यक्रम अत्यन्तै रोचक, ज्ञानवर्धक र उपयोगी भएको प्रतिक्रिया दिएका छन्।
एम्नेष्टी समूह ७२ पनौतीले आगामी दिनमा पनि पनौती नगरपालिकाका अन्य विद्यालयहरूमा यस्ता मानव अधिकार शिक्षा कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
-
Jigyasanepal