काभ्रे।
चोरीको आरोपमा पक्राउ परेका एक युवकको काभ्रेमा प्रहरी हिरासतभित्रै मृत्यु भएको घटनाले गम्भीर प्रश्न उठाएको छ। इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतमा रहेका २१ वर्षीय दुधराज तामाङ शौचालयभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
रोशी गाउँपालिका–१२ ढाडपाखा निवासी तामाङलाई आइतबार चोरीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो। हिरासतमा राखिएका तामाङ सोमबार बिहान शौचालयभित्र झुण्डिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए।
घटना सार्वजनिक हुनासाथ प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ। मृतकका आफन्तलाई खबर गरी प्रहरी कार्यालयमा बोलाइएको छ भने घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी हिरासतजस्तो संवेदनशील स्थानभित्रै युवकको मृत्यु भएपछि घटनाले मानव अधिकार, हिरासत व्यवस्थापन र सुरक्षा प्रबन्धका विषयमा पनि गम्भीर चासो र प्रश्न खडा गरेको छ। घटनाको सत्य तथ्य सार्वजनिक हुने प्रतीक्षामा स्थानीयवासी र मृतकका आफन्त रहेका छन्।
-
Jigyasanepal