जिग्यासा नेपाल / काठमाडौँ, कात्तिक ५, २०८२ बुधबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन तस्करीको नयाँ शैली प्रयोग गर्दै मलद्वारमार्फत धातु भित्र्याउने प्रयास असफल बनेको छ। प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरी सनसनीपूर्ण तथ्य सार्वजनिक गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति ४५ वर्षीय नर्पतसिंह सोलङ्की हुन्, जसको राहदानी नम्बर B6644934 रहेको छ। उनले थाइल्याण्डको बैङ्ककबाट थाइ लायन एयरको उडान नम्बर SL–220 मार्फत नेपाल प्रवेश गरेका थिए।
विमानस्थलको अराइभल भन्सार क्षेत्रबाट बाहिर निस्कने क्रममा उनको हाउभाउ शंकास्पद देखिएपछि ड्युटीमा खटिएका सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिए। प्रारम्भिक जाँचमा केही नभेटिए पनि थप अनुसन्धानका क्रममा केएमसी अस्पतालमा गरिएको भिडियो एक्स–रे परीक्षणमा मलद्वारमा प्लाष्टिकमा बेरिएको डल्ला फेला परेको प्रहरी स्रोतले जनाएको छ।
उक्त डल्लामा सुनजस्तो देखिने पहेँलो धातु ९० ग्राम तौलको रहेको पुष्टि भएको छ। प्रहरीका अनुसार डल्ला निकालिसकेपछि उक्त धातु र पक्राउ परेका सोलङ्कीलाई उपत्यका प्रहरी कार्यालयको लेखा शाखामा राखिएको छ।
उनीमाथि अहिले थप अनुसन्धान अघि बढाइएको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार प्रारम्भिक तथ्यांकले यस प्रकरणलाई संगठित सुन तस्करी गिरोहसँग जोडिएको संकेत दिएको छ।
“सामान्य यात्रुले यस्तो जोखिमपूर्ण शैलीमा धातु ल्याउँदैनन्। यसमा पछाडिबाट संगठित गिरोहको संलग्नता छ भन्ने शंका बलियो बनेको छ,” एआइजी कार्कीले भने, “तिहारको समयलाई अवसर मानेर हुने गैरकानुनी गतिविधिलाई नियन्त्रणमा लिन प्रहरी सतर्क छ।”
तिहार बिदापछि सोलङ्कीलाई थप कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, सिनामङ्गलमा बुझाइने तयारी गरिएको छ।
सुन तस्करीका नयाँ–नयाँ शैलीहरू पछिल्ला वर्षहरूमा बढ्दै गएका छन्। कहिले जुत्ता, ब्याग, ल्यापटप र इलेक्ट्रोनिक वस्तुमा, त कहिले शरीरभित्र लुकाएर ल्याउने घटना सार्वजनिक भइरहेका छन्। प्रहरीका अनुसार यस प्रकरणले नेपालमा सुन तस्करीको जटिल र जोखिमपूर्ण स्वरूप फेरि एकपटक उजागर गरेको छ।
-
Jigyasanepal