Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

भन्सार छली गरी गोदाममा लुकाइएको दुई किलो सुन र १० किलो चाँदी बरामद

  •   ११ महिना अघि | २८ असोज २०८२, मङ्लबार

जिग्यासा नेपाल

असोज २८, २०८२ – पर्सा ।

राजस्व चुहावट नियन्त्रणको क्रममा सशस्त्र प्रहरी र राजस्व अनुसन्धान टोलीले पर्सामा ठूलो मात्रामा भन्सार छली गरिएको सुन–चाँदी बरामद गरेको छ। विशेष सूचनाका आधारमा गरिएको संयुक्त अपरेसनमा वीरगञ्ज महानगरपालिका–८ माईस्थानस्थित अभिषेक सर्राफको घरमा लुकाइराखिएको २,२५४.८६ ग्राम (करिब दुई किलो) सुन र १०,३५४.०७ ग्राम (करिब १० किलो) चाँदी फेला परेको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरनचन्द्र भट्टका अनुसार सो सुन–चाँदीसँगै ठूलो मात्रामा नगद समेत बरामद गरिएको छ।

उनका अनुसार, ‘भन्सार छली गरी अवैध रूपमा भित्र्याइएको आशङ्कामा गरिएको सोमबारको छापामा सुन र चाँदी दुवै बरामद गर्न सफल भएका हौं।’

बरामद गरिएको धनराशिमा नेपाली रुपैयाँ एक लाख नौ हजार नगद र भारतीय रुपैयाँ ४१ हजार ६० पनि फेला परेको प्रहरीले जनाएको छ। साथै, सुनजस्तो देखिने थप ५५९.१० ग्राम र चाँदीजस्तो देखिने ५५० ग्राम धातु पनि नियन्त्रणमा लिइएको छ।

बरामद गरिएको सम्पूर्ण सामानलाई पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माका अनुसार अब सुन–चाँदीको प्राविधिक परीक्षण गरी आवश्यक कागजात र स्वामित्व प्रमाणको आधारमा अनुसन्धान अघि बढाइनेछ।

शर्माले भने, ‘बरामद भएको सुनचाँदीको परीक्षणपछि राजस्व अनुसन्धान विभागबाट अनुसन्धान अधिकृत तोकिएर आएपछि कानुनी प्रक्रिया अघि बढ्नेछ।’

भन्सार छलीका घटनाहरू पछिल्ला वर्षमा बढ्दै गएका बेला यो घटनाले फेरि पनि वीरगञ्ज–पथलैया सीमाक्षेत्रमा अवैध सुन–चाँदी कारोबार सक्रिय रहेको संकेत दिएको छ।

राजस्व अनुसन्धान कार्यालयले यस घटनालाई राजस्व चुहावटसँग जोडिएको ठूलो नेटवर्कको भाग हुन सक्ने सम्भावना भन्दै विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ। सशस्त्र प्रहरी र राजस्व अनुसन्धानको संयुक्त अभियानले सीमावर्ती क्षेत्रमा हुने भन्सार छली र अवैध सुन–चाँदी व्यापारमा ठोस प्रहार गरेको यो घटनाले फेरि एकपटक सावधानी र कडाइको आवश्यकता उजागर गरेको छ।


  • Jigyasanepal

थप