काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सरकारले निर्वाचन प्रहरी भर्ना तथा परिचालनसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ। गृह मन्त्रालयले सोमबार मापदण्ड स्वीकृत गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई पठाइसकेको छ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार स्वीकृत मापदण्डअनुसार यसपटक कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गरिनेछ। जसअन्तर्गत नेपाल प्रहरीले १ लाख ३३ हजार ९ सय ८० जना र सशस्त्र प्रहरीले १५ हजार १ सय १० जना निर्वाचन प्रहरी भर्ना गर्नेछन्।
मापदण्डअनुसार निर्वाचन प्रहरीको भर्ना भने एकमुष्ट रूपमा गरिनेछ। भर्ना प्रक्रियाका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा निर्वाचन प्रहरी छनोट समिति गठन गरिनेछ। समितिमा सहायक प्रमुख जिल्ला अधिकारी सदस्यसचिव रहनेछन् भने नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुख सदस्य रहने व्यवस्था गरिएको छ।
निर्वाचन प्रहरीमा भर्ना हुन इच्छुकले दुवै प्रहरीका जिल्लास्थित कार्यालयमार्फत निवेदन दिन सक्नेछन्। छनोट प्रक्रिया सम्पन्न भएपछि मात्रै सशस्त्र प्रहरी र नेपाल प्रहरीले आफ्नो–आफ्नो कोटा अनुसार जनशक्ति परिचालन गर्नेछन्। यद्यपि, तालिम भने दुवै प्रहरीले छुट्टाछुट्टै दिनेछन्।
स्वीकृत मापदण्डअनुसार छनोट भएका निर्वाचन प्रहरीलाई १० दिनको तालिम प्रदान गरिनेछ भने उनीहरूलाई एक महिना निर्वाचन सुरक्षामा खटाइने व्यवस्था गरिएको छ। नेपाल प्रहरीले भर्ना गरेको जनशक्ति नेपाल प्रहरीसँगै र सशस्त्र प्रहरीले भर्ना गरेको जनशक्ति सशस्त्र प्रहरीसँगै परिचालित हुनेछन्।
निर्वाचन प्रहरीले प्रहरीका जवान सरह सेवासुविधा पाउनेछन्। जसमा बीमा, पोसाक र रासन भत्ता समेत समावेश छ। निर्वाचन प्रहरी भर्नामा पूर्व सुरक्षाकर्मी तथा यसअघिका निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई विशेष प्राथमिकता दिइने उल्लेख छ। अधिकांश मापदण्ड अघिल्ला निर्वाचनकै जस्तै रहेको गृह मन्त्रालयले जनाएको छ।
यसअघि २०७९ को निर्वाचनमा १ लाख १५ हजार म्यादी प्रहरी माग गरिएको थियो। तर यसपटक निर्वाचन आयोगले मतदानस्थल संख्या बढाएकाले निर्वाचन प्रहरीको संख्या पनि बढाइएको हो। आयोगका अनुसार आगामी निर्वाचनमा देशभर १० हजार ९६७ मतदानस्थल रहनेछन्, जुन अघिल्लो निर्वाचनको तुलनामा १६८ वटा बढी हो।
सुरक्षाका दृष्टिले यीमध्ये ३ हजार ५ सय मतदान केन्द्र अति संवेदनशील मानिएका छन्। मतदानस्थल र संवेदनशीलता दुवै बढेकाले यसपटक ३५ हजार अतिरिक्त निर्वाचन प्रहरी थप गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ।
यस निर्वाचनमा पहिलो पटक सशस्त्र प्रहरीले पनि निर्वाचन प्रहरी भर्ना गर्ने निर्णय गरिएको छ। यसअघि स्ट्राइकिङ फोर्समा १८ जनाको टोली खटाइँदै आएकोमा अब ६ जना निर्वाचन प्रहरी थपेर टोली विस्तार गरिनेछ। त्यसैगरी, मोबाइल गस्तीमा यसअघि ७ जना सशस्त्र प्रहरी रहने व्यवस्था रहेकामा अब १२ जनाका दरले खटाइने, जसमा ७ जना सशस्त्र प्रहरी र ५ जना निर्वाचन प्रहरी रहनेछन्।
-
Jigyasanepal