काठमाडौँ । बंगलादेशमा पछिल्ला दिनहरूमा अल्पसंख्यक हिन्दु समुदाय लक्षित हिंसा निरन्तर बढ्दै गएको छ। पछिल्लो घटनामा १२औँ दिनभित्र तेस्रो पटक एक हिन्दु व्यक्तिको हत्या भएको छ, जसले त्यहाँको सुरक्षा अवस्था र अल्पसंख्यक अधिकारमाथि गम्भीर प्रश्न उठाएको छ।
बंगलादेशको मयमनसिंह जिल्लास्थित भालुका उपजिल्लामा रहेको सुल्ताना स्वेटर लिमिटेड नामक कपडा कारखानाभित्र एक हिन्दु कामदारको गोली हानी हत्या गरिएको हो। स्थानीय समयअनुसार सोमबार साँझ ६:४५ बजे भएको घटनामा कारखानामै सुरक्षा गार्डका रूपमा कार्यरत ४२ वर्षीय बजेन्द्र विश्वासको ज्यान गएको छ।
प्रहरीका अनुसार हत्या अभियोगमा सोही कारखानामा सुरक्षा ड्युटीमा रहेका २९ वर्षीय नोमान मिया पक्राउ परेका छन्। प्रहरी र प्रत्यक्षदर्शीहरूको भनाइअनुसार दुवैबीच सामान्य कुराकानी भइरहेका बेला नोमान मियाले सरकारले जारी गरेको बन्दुक बजेन्द्रतर्फ तेर्स्याएका थिए। सो क्रममा अचानक बन्दुक पड्किँदा बजेन्द्रको बायाँ तिघ्रामा गोली लागेको र अत्यधिक रक्तस्रावका कारण घटनास्थलमै उनको मृत्यु भएको जनाइएको छ।
दुई हप्तामा तीन हिन्दुको हत्या
यो घटना बंगलादेशमा पछिल्लो दुई हप्ताभित्र भएको तेस्रो हिन्दु हत्या हो। यसअघि डिसेम्बर २४ को राति करिब ११ बजे राजबारी जिल्लाको होसेन्डाङ्गा गाउँमा २९ वर्षीय अमृत मण्डल (सम्राट) नामक हिन्दु युवकको कुटपिट गरी हत्या गरिएको थियो। प्रहरीका अनुसार उनलाई जबर्जस्ती चन्दा असुलीको आरोप लगाउँदै स्थानीय भिडले आक्रमण गरेको थियो। मृतक अमृतविरुद्ध पाङ्सा प्रहरी चौकीमा दुई वटा मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ, जसमध्ये एउटा हत्या सम्बन्धी रहेको उल्लेख गरिएको छ।
त्यसअघि डिसेम्बर १८ मा ढाकानजिकै हिन्दु समुदायका अर्का युवक दिपु चन्द्र दासको पनि भिडद्वारा निर्ममतापूर्वक हत्या गरिएको थियो। उनलाई हत्या गरेपछि रूखमा झुन्ड्याई आगो लगाइएको घटनाले देशभर तरंग पैदा गरेको थियो।
चिन्ता बढ्दो, अन्तर्राष्ट्रिय चासो आवश्यक
लगातार भइरहेका यी घटनाले बंगलादेशमा हिन्दु समुदायको सुरक्षा गम्भीर संकटमा परेको देखिएको छ। मानवअधिकारकर्मी तथा अल्पसंख्यक अधिकारकर्मीहरूले राज्य संयन्त्रको प्रभावकारी भूमिका र निष्पक्ष अनुसन्धानको माग गर्दै आएका छन्। दुई हप्तामा तीन जनाको हत्या हुनु सामान्य आपराधिक घटना मात्र नभई, सामाजिक सद्भाव र धार्मिक सहअस्तित्वमाथिको गम्भीर चुनौती भएको उनीहरूको ठहर छ।
बंगलादेश सरकार र सुरक्षा निकायले घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही नगरेमा अल्पसंख्यक समुदायप्रतिको भय अझै गहिरिँदै जाने विज्ञहरूको चेतावनी छ।
-
Jigyasanepal