काठमाडौं । काठमाडौँ उपत्यकामा नाबालिकालाई यौनजन्य कार्यमा संलग्न गराइएको गम्भीर आरोपमा नेपाल प्रहरीले आठ जना बालिकाको उद्धार गर्दै पाँच जनालाई पक्राउ गरेको छ। मानव बेचबिखन तथा ओसारपसार अनुसन्धान ब्यूरोले बिहीबार उक्त कारबाहीबारे सार्वजनिक जानकारी दिएको हो।
ब्यूरोका अनुसार काठमाडौँ उपत्यकामा रहेका विभिन्न स्पा सेन्टर, होटल, डान्सबार, क्लब, दोहोरी सेन्टर, खाजाघर तथा गेष्टहाउसहरूमा नाबालिकालाई आर्थिक प्रलोभन देखाई जबर्जस्ती वेश्यावृत्ति तथा यौनशोषणमा लगाइएको भन्ने सूचनाका आधारमा विशेष अनुसन्धान र छापा मारिएको थियो।
छापामारीका क्रममा ठमेलस्थित गोल्डेन स्पा, चावहिलको फायर लाउन्ज एण्ड क्लब, बौद्धस्थित लक्की स्पा, मित्रनगरको सुदूरपश्चिम खाजाघर तथा खप्तड सुदूरपश्चिम गेष्टहाउसबाट आठ जना नाबालिकाको सकुशल उद्धार गरिएको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो।
उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेहरूमा
काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१३ का ३२ वर्षीय हेमन्त श्रेष्ठ,
सिन्धुली दुधौली नगरपालिका–१२ की ४० वर्षीया गीताकुमारी आचार्य,
सल्यान कुमाख गाउँपालिका–४ का ४५ वर्षीय गोविन्द बुढाथोकी,
बझाङ छबिसपाथीभेरा गाउँपालिका–१ का ४२ वर्षीय हरिभक्त गिरी,
कैलाली गौरीगङ्गा नगरपालिका–६ का ४९ वर्षीय भीमबहादुर साउद रहेका छन्।
प्रारम्भिक अनुसन्धानमा उनीहरूले नाबालिकालाई आर्थिक लाभका लागि यौनशोषण तथा वेश्यावृत्तिमा संलग्न गराएको खुलेपछि प्रहरीले तत्काल नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेकाहरूमाथि जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रवक्ता खड्काले बताउनुभयो।
प्रहरीले मानव बेचबिखन तथा नाबालिका शोषणजस्ता गम्भीर अपराधविरुद्ध कडा निगरानी र निरन्तर कारबाही जारी रहने स्पष्ट पारेको छ।
-
Jigyasanepal