सिन्धुली ।
सिन्धुलीमा एक ट्रकले दुई मोटरसाइकललाई एकसाथ ठक्कर दिँदा दुःखद दुर्घटना भएको छ। उक्त घटनामा दुई युवकको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।
बुधबार साँझ दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा भएको दुर्घटनामा भिमानबाट दुधौलीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ४११ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेका दुई मोटरसाइकल — प्रदेश २–०१–००१ प २१४२ र मप्र।०२–००६ प ५८४१ नम्बरका पल्सर — आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका दुधौली नगरपालिका–११ टाडी निवासी ३४ वर्षीय रामकुमार कुमर र दुधौली नगरपालिका–३ निवासी २५ वर्षीय फुलबाबु धामीको उपचारका क्रममा दुधौली नगर अस्पताल सिर्थौलीमा मृत्यु भएको पुष्टि भएको हो।
त्यस्तै, सोही दुर्घटनामा दुधौली–३ का २६ वर्षीय विप्लव धामी, २७ वर्षीय बुद्धि थारू, २५ वर्षीय सुनिल माझी, र ३२ वर्षीय कुशे धामी गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार, तीमध्ये तीन जनाको अवस्था अत्यन्त गम्भीर रहेको र उनीहरू बोल्न नसक्ने अवस्थामा रहेको बताइएको छ।
दुर्घटनापछि मप्र।०२–००६ प ५८४१ नम्बरको मोटरसाइकलमा आगलागी भई पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ।
ट्रक चालक धनकुटा छथर जोरपाटी गाउँपालिका–६ निवासी २५ वर्षीय शेरबहादुर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
इलाका प्रहरी कार्यालय डकाहाकी प्रहरी निरीक्षक सपना खड्काका अनुसार, घाइतेहरूलाई तत्काल उद्धार गरी दुधौली नगर अस्पतालमा उपचारका लागि पठाइएको छ।
दुर्घटनाको प्रमुख कारण तीव्र गति र लापरवाहीपूर्ण ड्राइभिङ भएको प्रारम्भिक अनुमान गरिएको छ।
स्थानीयहरूले राजमार्गमा तीव्र गतिमा सवारी चलाउने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाएको भन्दै प्रशासनलाई कडाइका साथ नियन्त्रण गर्न माग गरेका छन्।
-
Jigyasanepal