काठमाडौं ।
गत केही दिनदेखि लगातार वर्षा र हिउँले जनजीवन प्रभावित बनाएको नेपालमा अहिले भने अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव समाप्त भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर पश्चिमी वायुको मात्र प्रभाव रहेको छ ।
शनिबार रातिसम्म नेपालको मौसममा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव परेको थियो । त्यसअघि बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ ले पनि अप्रत्यक्ष असर पुर्याएको थियो । यही कारण गत बुधबार रातिदेखि लगातार वर्षा हुँदै आएको थियो ।
तर अब उक्त प्रणालीको प्रभाव पूर्ण रूपमा हटिसकेको र आगामी तीन दिनमा मौसम क्रमशः सफा हुँदै जाने महाशाखाले जनाएको छ ।
कात्तिक १६ गते (आइतबार)
दिउँसो:
कोसी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहनेछ । ती प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । बाँकी प्रदेशहरूमा मौसम मुख्यतया सफा रहनेछ ।
राति:
तीनै प्रदेशका पहाड र हिमाल भूभागमा आंशिक बदली रहने र एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ ।
कात्तिक १७ गते (सोमबार)
दिउँसो:
देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । कोसी र गण्डकी प्रदेशका उच्च पहाड तथा हिमाल क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना छ ।
राति:
देशका अधिकांश भागमा मौसम सफा रहने अनुमान छ । तर कोसी प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहन्छ ।
कात्तिक १८ गते (मंगलबार)
दिउँसो:
कर्णाली प्रदेशसहित देशका अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ । कर्णाली र सुदूरपश्चिमका पहाडमा हल्का वर्षा वा हिमपातको सम्भावना छ ।
राति:
गण्डकी र कर्णाली प्रदेशका पहाडमा आंशिक बदली रहने र एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ । बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ ।
मौसम मापनका मापदण्ड
मौसमविद्हरूका अनुसार
२४ घण्टामा १० मिमि भन्दा कम पानी पर्नुलाई हल्का वर्षा,
१०–५० मिमि लाई मध्यम वर्षा,
५०–१०० मिमि लाई भारी वर्षा,
१००–२०० मिमि लाई धेरै भारी वर्षा,
र २०० मिमि भन्दा माथि लाई अति भारी वर्षा भनिन्छ ।
त्यसैगरी, प्रदेशको १० प्रतिशतभन्दा कम क्षेत्रमा वर्षा हुने सम्भावना भए एक-दुई स्थानमा वर्षा, ३० प्रतिशतसम्म थोरै स्थानमा वर्षा, ५० प्रतिशतसम्म केही स्थानमा वर्षा, ८० प्रतिशतसम्म धेरै स्थानमा वर्षा, र ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा वर्षा हुने सम्भावना भए अधिकांश स्थानमा वर्षा भनिन्छ ।
हालको पश्चिमी वायुको प्रभावले हल्का अस्थिरता देखिए पनि देशभर मौसम क्रमशः स्थिर हुँदै गएको छ । अरब सागर र बंगालको खाडीबाट उत्पन्न न्यून चापीय प्रभाव हटेसँगै देशका अधिकांश भूभागमा केही दिनभित्रै पूर्णरूपमा सफा आकाश रहने अनुमान गरिएको छ ।
-
Jigyasanepal