पाँचथर । मिक्लाजुङ गाउँपालिकामा बाबुले मादक पदार्थ सेवन गरी छोराको भरुवा बन्दुक हानेर हत्या गरेका छन् ।घरायसी विवादका क्रममा बाबुले गोली हान्दा छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पाँचथरको मिक्लाजुङ– ८ भदौरेका ५२ वर्षीय बखतसिंह लिम्बूले भरुवा बन्दुक हान्दा १७ वर्षीय छोरा सफल लिम्बूको मृत्यु भएको हो ।
मादक पदार्थ सेवन गरेका लिम्बूले आइतबार अपराह्न छोरालाई घर नजिकै बारीमा गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिए ।
बन्दुकको गोलीले १७ वर्षीय छोरा सफलको छाती, कुम र कञ्चटसहित शरिरका विभिन्न भागमा गोली लागेको थियो । सफलको घटनास्थलमै मृत्यु भएको सूचना अधिकारी तामाङले बताए ।
हत्याको जानकारी पाउना साथ खटेको प्रहरी टोलीले बखतसिंहलाई पक्राउ गर्नुका साथै बन्दुक नियन्त्रणमा लिइएको छ । मृतक सफलको शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।
-
Jigyasanepal