काठमाडौँ । सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित एसबीआई बैंकको शाखा कार्यालय लुटपाट घटनामा घरधनीकै संलग्नता रहेको सनसनीपूर्ण तथ्य सार्वजनिक भएको छ। बैंक लुटपाटमा संलग्न घरधनीसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ भने लुटिएको ठूलो परिमाणको रकम र हतियारसमेत बरामद गरिएको छ।
बैंक रहेको घरका धनी छविलाल स्याङ्तान बैंक लुटपाटपछि फरार रहेका थिए। उनलाई नजिकैको जंगलबाट पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको हो। सिन्धुली प्रहरीका प्रवक्ता डीएसपी सूर्यप्रकाश सुवेदीका अनुसार हालसम्म ७ जना पक्राउ परिसकेका छन्।
पक्राउ पर्नेहरू को–को ?
प्रहरीका अनुसार पक्राउ पर्नेमा
काभ्रेपलाञ्चोक बनेपा–१० का ४९ वर्षीय भागवत सिंह,
सिन्धुली घ्याङलेख–२ का ४७ वर्षीय चतुरमान बज्यु,
भरतपुर महानगरपालिका–२ का २४ वर्षीय शशांक श्रेष्ठ,
नुवाकोट पञ्चकन्या–५ का २३ वर्षीय मिलन गिरी,
१९ वर्षीय विवेक मगर,
बैंक रहेको घरका धनी ४४ वर्षीय छविलाल स्याङ्तान,
र १६ वर्षीय एक किशोर रहेका छन्।
२ करोड ६८ लाखभन्दा बढी रकम बरामद
प्रहरीले लुटपाटमा संलग्नबाट २ करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ नगद बरामद गरेको छ। साथै घटनामा प्रयोग भएका
२ थान खुकुरी,
प्लास्टिकको नक्कली पेस्तोल,
४ थान नकाब,
टेप र पञ्जा समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
असोजमै बनाइएको थियो बैंक लुट्ने योजना
प्रारम्भिक अनुसन्धानबाट घरधनी छविलाल स्याङ्तान र चतुरमान बज्युले गत असोज महिनामै बैंक लुट्ने योजना बनाएको खुलेको छ। सोहीअनुसार उनीहरूले सूचना संकलन, हतियार व्यवस्थापन र अन्य तयारी गरेको बयान प्रहरीलाई दिएका छन्।
पुस २९ गते भएको थियो लुटपाट
पुस २९ गते साँझ साढे ७ बजे लुटेराहरूले बैंकमा प्रवेश गरी
सुरक्षा गार्ड रुद्रबहादुर कार्की र
बैंकका कर्मचारीहरूलाई नियन्त्रणमा लिएर
हातखुट्टा बाँधेका थिए। उनीहरूलाई मुखमा टेप टाँसेर कोठाभित्र थुनेको अवस्थामा प्रहरी टोलीले उद्धार गरेको थियो। खुकुरी प्रहारबाट सुरक्षा गार्ड घाइते भएका थिए।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बस्तीपुरबाट खटिएको टोली घटनास्थल पुगेको थियो। घटनापछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी उपरीक्षकको कमान्डमा ५० जना प्रहरी परिचालन गरी व्यापक खोजतलास सुरु गरिएको थियो।
जंगलमा लुकाइएको पैसा, टाटा सुमो प्रयोग
खोजतलासकै क्रममा घटनास्थलबाट करिब २ किलोमिटर पूर्व लिपिखोलामा बीएडी ०३९८ नम्बरको टाटा सुमो र चालक भागवत सिंह फेला परेका थिए। प्रारम्भिक सोधपुछमा विवाहको बहानामा काभ्रेको बनेपाबाट गाडी रिजर्भ गरिएको खुलेको छ।
त्यसपछि प्रहरीले पुस २९ गते राति जंगलका विभिन्न स्थानमा लुकाइएको १ करोड ८० लाख १० हजार ५०० रुपैयाँ,
पुस ३० गते बिहान सुकाचुरीबाट ४ जनालाई पक्राउ गरी ५ लाख ९ हजार ६७५ रुपैयाँ,
र उनीहरूको बयानका आधारमा थप ८३ लाख ३५ हजार रुपैयाँ बरामद गरेको हो।
तेस्रो प्रयासमा सफल लुट
अनुसन्धानबाट लुटेराहरूले तेस्रो प्रयासमा बैंक लुटपाट गर्न सफल भएको खुलेको छ।
पुस २३ गते पहिलो प्रयास असफल,
पुस २८ गते तयारी अधुरो,
अन्ततः पुस २९ गते कोटेश्वर–बनेपा हुँदै घ्याङलेख पुगेर लुटपाट गरिएको प्रहरीले जनाएको छ।
बैंकबाट ३ करोड ७ लाख लुटिएको दाबी
एसबीआई बैंक शाखा घ्याङलेखका अनुसार बैंकबाट ३ करोड ७ लाख रुपैयाँ लुटपाट भएको छ। घटनामा संलग्न सबैमाथि अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइएको छ। जिल्ला अदालत सिन्धुलीले पहिलो चरणमा ५ दिनको म्याद दिएको प्रहरीले जनाएको छ।
-
Jigyasanepal