कटारी (उदयपुर), मंसिर २० – उदयपुरको कटारी–३ च्याँगाका ६२ वर्षीय लुप्त (मिश्र) बहादुर कार्की सुनकोसी नदीमा हाम फालेको तीन दिन बितिसक्दा पनि अझै फेला परेका छैनन्। बुधबार दिउँसो कटारी–१४ घुर्मी र ओखलढुङ्गाको हर्कपुर जोड्ने रणनीतिक सुनकोसी पुलबाट उनले हाम फालेको स्थानीयले देखेका थिए।
इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक लङ्कबहादुर श्रेष्ठका अनुसार घटनास्थलमै कार्कीको टोपी र जुत्ता भेटिएको पुष्टि गरिएको छ। प्रारम्भिक तथ्यांक अनुसार कार्कीले पुलको मध्यभागबाट प्रत्यक्ष रूपमा नदीमा हाम फालेको देखिन्छ।
तीन दिन बितिसक्दा पनि कार्कीको अवस्थाबारे केही पत्ता नलागेपछि चिन्ताको वातावरण थप गहिरिएको छ।
प्रहरी, आफन्त र स्थानीयवासीले डोरी तथा स्थानीय स्रोत–साधन प्रयोग गरेर खोजी जारी राखिरहेका छन्। तर कठोर भू–भाग र नदीको बग्ने वेगका कारण खोजीमा कठिनाइ भएको बताइएको छ।
प्रहरी निरीक्षक श्रेष्ठले भने,
“आज (शनिबार) गोताखोर टोली आएर खोजीलाई थप सशक्त बनाइने तयारी भइरहेको छ। तीन दिनदेखि निरन्तर खोज्दै आएका छौँ तर अहिलेसम्म फेला पार्न सकेका छैनौँ।”
घटना भएयता सुनकोसीको आसपासको क्षेत्रमा सर्तकता बढाइएको छ। स्थानीयको सहायता, सुरक्षा निकायको समन्वय र गोताखोर टोलीको आगमनसँगै खोजी कार्य अझ तीव्र हुने अपेक्षा गरिएको छ।
कार्की किन नदीमा हाम फाले भन्ने कारण भने अहिलेसम्म खुलेको छैन।घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।
-
Jigyasanepal