रुकुम पश्चिम — रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा विवाहमा गएका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक किशोरी अझै बेपत्ता भएकी छन्। घटनाले स्थानीय समुदायमा शोक र त्रास फैलिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै सानीभेरी नदी किनारमा आज दुई किशोरीको शव फेला परेको हो। मृत फेला पर्नेमा सोही गाउँपालिका–३ गरालागोठकी १४ वर्षीया उर्मिला ओली र १२ वर्षीया कल्पना ओली रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिप्रसाद पुन का अनुसार दुवै किशोरीको शव करिब ५०० मिटरको दूरीमा सानीभेरी नदी किनारमा फेला परेको हो। उनीहरूसँगै गएकी १२ वर्षीया सपना ओली भने अझै बेपत्ता रहेकी छन् र उनको तीव्र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक जानकारीअनुसार तीनै जना किशोरी हिजो छिमेकीको विवाहमा गएका थिए। विवाहबाट घर फर्किने क्रममा नदीले बगाएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी निरीक्षक पुनको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयको टोली तथा अस्थायी प्रहरी पोस्ट छिनखेतबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको छ।
प्रहरीले घटनास्थलको मुचुल्का तयार पार्दै बेपत्ता किशोरीको खोजी कार्य जारी राखेको जनाएको छ। साथै घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पुनले जानकारी दिएका छन्।
यस घटनाले बाँफिकोट क्षेत्रमा गहिरो शोक छाएको छ भने स्थानीयवासी घटनाप्रति स्तब्ध बनेका छन्।
-
Jigyasanepal