काठमाडौं – नेपालमा सोमबार र मंगलबार वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल नेपालमा सक्रिय पश्चिमी न्यूनचापीय प्रणालीका कारण देशका विभिन्न स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुनसक्छ। पश्चिमी वायुका साथ प्रवेश गरेको न्यूनचापीय प्रणालीले सोमबारदेखि प्रभाव विस्तार गर्ने सम्भावना छ।
विशेष गरी कर्णाली र सुदूरपश्चिमका भूभागमा प्रभाव तीव्र रहने महाशाखाले जानकारी दिएको छ। अन्य क्षेत्रमा पनि आंशिकदेखि सामान्य बदली भई वर्षाको सम्भावना रहेको छ।
सावधानी अपनाउन आग्रह
महाशाखाले हिमाली क्षेत्रका बासिन्दालाई हिमपातको जोखिमप्रति सजग रहन र पहाडी तथा तराई क्षेत्रमा चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सुझाव दिएको छ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव मंगलबारसम्म जारी रहने अनुमान गरिएको छ। तत्पश्चात मौसम क्रमशः सुधार हुने महाशाखाको भनाइ छ।
- Jigyasa media