काठमाडौँ |
माघ २७, २०८२, मंगलबार | ११:४६
काठमाडौँबाट रामेछाप हुँदै ओखलढुंगा जाँदै गरेको यात्रुबाहक बस तामाकोसी नदीमा खस्दा कम्तीमा चार जनाको मृत्यु भएको छ भने छ जनाको जीवितै उद्धार गरिएको छ। बस नदीमा डुबेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ।
दुर्घटना रामेछापको मन्थली नगरपालिका क्षेत्र अन्तर्गत पर्ने खुर्कोट–मन्थली सडकखण्डको लिलौती पहरा नजिक भएको हो। बागमती प्रदेशको ०१–००५ ख ९९७५ नम्बरको अरनिको यातायातको बस सिन्धुलीको खुर्कोटबाट झण्डै तीन किलोमिटर अगाडि मन्थलीतर्फ जाँदै गर्दा सडकबाट अनियन्त्रित भई तामाकोसी नदीमा खसेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर राजन अधिकारीका अनुसार दुर्घटनास्थलमै चार जनाको शव फेला परेको छ।
“पहराबाट खसेको बस तामाकोसीमा डुबेको छ। हामीले हालसम्म ६ जना घाइतेलाई उद्धार गरी अस्पताल पठाइसकेका छौँ,” उनले भने, “प्रारम्भिक जानकारीअनुसार बसमा करिब १३ यात्रु सवार थिए।”
प्रहरीका अनुसार केही यात्रुहरू नदीमा खस्नासाथ पौडिएर बाहिर निस्कन सफल भएका छन्। भने केही घाइतेलाई डुंगाको सहायताबाट उद्धार गरिएको हो।
हालसम्म बससहित नदीमा कति यात्रु डुबेका छन् भन्ने यकिन हुन सकेको छैन। घटनास्थलमा प्रहरी तथा उद्धार टोली परिचालन गरिएको छ भने खोज तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।
प्रहरीले दुर्घटनाको थप विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको जनाएको छ।
-
Jigyasanepal