काठमाडौं, असोज १५ – अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोले जनधनको ठूलो क्षति पुर्याइरहेको अवस्थामा, १६३ जना विदेशी पर्यटकको सफल उद्धार गरिएको छ। असोज ११ र १२ गते परेको भारी वर्षाका कारण यी पर्यटकहरू विभिन्न स्थानमा अलपत्र परेका थिए।
उद्धार कार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको अग्रसरतामा भएको हो। मन्त्री पाण्डेको पहलमा मन्त्रालयमा आकस्मिक बैठक बसेर नेपाल पर्यटन बोर्डको क्राइसिस सेललाई उद्धार अभियान सञ्चालन गर्न निर्देशन दिएको थियो। क्राइसिस सेलले नेपाली सुरक्षा निकाय, ट्राभल तथा ट्रेकिङ एजेन्सी, र नेपालस्थित विदेशी दूतावासहरूसँग समन्वय गरी उद्धार कार्य अघि बढाएको हो।
पर्यटक प्रहरी र सेलको हटलाइनमार्फत २४ सै घण्टा सेवा दिइएको छ, साथै सेलले आफ्नो वेबसाइटमार्फत पर्यटकहरूलाई मौसम जानकारी र हवाई सेवाको अवस्था उपलब्ध गराउँदै आएको छ। यसै क्रममा हराइरहेका सिंगापुरका दुई पर्यटकलाई सुरक्षित रूपमा फेला पारिएको छ भने रामेछापमा एक नेपाली र एक भारतीय पर्यटकको पनि उद्धार गरिएको छ।
मन्त्रालयको पहलपछि पर्यटन क्षेत्र केही सहज बन्दै गएको छ, र सडक यातायात सञ्चालन नभएसम्म हवाई सेवाहरू न्यूनतम् शुल्कमा उपलब्ध गराउने वायु सेवा कम्पनीहरूको सहमति भएको छ। यसअघि तीन दिनसम्म न्यूनतम् भाडादरमा टिकट विक्री गर्ने सहमति भएको थियो, जसले अलपत्र परेका पर्यटकहरूलाई ठूलो राहत दिएको छ।
- Jigyasa media