काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेश जाने यात्रुहरूलाई सुरक्षा जाँचका क्रममा खादा र माला नलगाउन आग्रह गरेको छ। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार, यात्रुहरूले लगाएका खादा र मालाका कारण सुरक्षा जाँच उपकरणहरूमा क्षति पुर्याइरहेकोले यो आग्रह गरिएको हो।
निरौलाले राससलाई जानकारी दिँदै भने, "सुरक्षा जाँचको समयमा यात्रुले खादा र माला नलगाउन आज औपचारिक सूचना जारी गरेका छौं। अन्य समयमा लगाउन मिल्ने भए पनि सुरक्षा जाँचका क्रममा भने ती वस्तुहरू झोलामा राख्नुपर्नेछ।"
सुरक्षा उपकरणहरू जस्तै एक्सरे, कन्भेयर बेल्ट, र स्केलेटरमा खादा र माला अड्केर समस्या आउने गरेको र यसले विमानस्थलको सुरक्षा प्रक्रियामा अवरोध पुर्याउने गरेको जनाइएको छ। साथै, यात्रुहरूले खादा र माला विमानस्थलका विभिन्न स्थानमा छाडेर जाने गर्दा विमानस्थलको सौन्दर्यतामा नकारात्मक असर पर्ने भएकाले यात्रुहरूलाई ती वस्तुहरू झोलामा राखेर लैजान आग्रह गरिएको छ।
- Jigyasa media