चितवन, भदौ २२ – चितवनको भरतपुर महानगरपालिका-२७ धरमपुर जमुनाघाटबाट माछा मार्न गएका दुई युवा राप्ती नदीमा बेपत्ता भएका छन्।
बेपत्ता हुनेहरूमा भरतपुर-२५ का ४३ वर्षीय सञ्जीव चौधरी र भरतपुर-२७ का ४५ वर्षीय सुकबहादुर परियार रहेका छन्। उनीहरू शुक्रबार दिउँसो २ बजे नदीमा माछा मार्न गएका थिए र त्यसपछि सम्पर्कविहीन भएका हुन्।
साथमा माछा मार्न गएका रोहितकुमार चौधरी भने पौडेर ज्यान जोगाउन सफल भएका छन्। इलाका प्रहरी कार्यालय पर्साढापका सई प्रमोद यादवका अनुसार बेपत्ता भएका युवाहरूलाई खोज्न सुरक्षाकर्मी र स्थानीयहरू सक्रिय छन्।
शनिबार बिहान ६ बजेदेखि चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नयाँ गोरख गणका १५ जना सैनिकहरू डुंगामा बसेर खोजीमा खटिएका छन्। निकुञ्जले हात्ती प्रयोग गरी खोजी कार्य अघि बढाएको छ भने स्थानीय बोटे समुदायले पनि मेघौलीतर्फ नदी किनारमा खोजी जारी राखेका छन्।
राप्ती नदीमा कानूनी रूपमा लाइसेन्स प्राप्त व्यक्तिले मात्र माछा मार्न पाउने व्यवस्था छ, तर यी दुई युवाले अनुमति नलिई माछा मार्न गएको सई यादवले बताएका छन्। तीज पर्वको अवसरलाई छोपेर अवैध रूपमा नदीमा प्रवेश गरेको प्रहरीले जनाएका छन्।
अहिलेसम्म बेपत्ताहरूको अवस्था अज्ञात छ र खोजीकार्य तीव्र रूपमा चलिरहेको छ।
- Jigyasa media