काठमाडौं । ‘जेनजी’ आन्दोलनका क्रममा देशभरका कारागार तथा सुधारगृहमा भएको तोडफोड र आगजनीपश्चात भागेका कैदीबन्दीमध्ये ८ हजार २२६ जना अझै फरार रहेका छन्।
कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा देशभरका २८ वटा कारागार र ९ वटा बालसुधार गृहबाट १४ हजार ५५५ जना कैदीबन्दी भागेका थिए। तीमध्ये हालसम्म ६ हजार ३२८ जना पुनः कारागार फर्किएका छन् भने बाँकी अझै खोजीमा छन्।
भागेकामध्ये कारागारबाट १३ हजार ५९१ र सुधारगृहबाट ९६४ जना थिए। अहिलेसम्म कारागार फर्किएका ५ हजार ९८७ र सुधारगृह फर्किएका ३४१ जना रहेका छन्। न्यौपानेले कतिपय कैदी आफैं गल्ती स्वीकार्दै फर्किएका र कतिपयलाई प्रहरीले पक्राउ गरी पुनः ल्याइएको बताए।
यसैबीच, आन्दोलनका क्रममा नेपाल प्रहरीका हिरासतबाट पनि करिब २ हजार आरोपी फरार भएको प्रहरी प्रवक्ता, नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए। उनका अनुसार देशभर हाल ३० हजार ६३४ कैदीमध्ये आन्दोलनपछि २१ हजार ९९९ जना मात्रै कारागारमा रहेका छन्।
यस घटनामा चर्चामा रहेका रास्वपा सभापति रवि लामिछाने नख्खु कारागारबाट निस्किए पनि पछि पुनः जेल फर्किएका छन्।
👉 फरार कैदीहरुको खोजी प्रहरी र सम्बन्धित निकायले तीव्र पारेको छ भने अझै ठूलो संख्यामा कैदी हराइरहनुले देशको सुरक्षा प्रणालीबारे गम्भीर प्रश्न उठाएको छ।
-
Jigyasanepal