काठमाडौं । बडिगाड गाउँपालिका–१० आरुपाटामा गत मङ्गलबार खसेको पहिरोमा परी बेपत्ता भएका मध्ये थप एक जनाको शव फेला परेको छ। सात वर्षीया मधु बुढाको शव आज बिहान फेला परेको हो।
अझै पनि १० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन थापा बेपत्ता छन्। प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीका अनुसार, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरेर बेपत्ताहरूको खोजी कार्य जारी छ।
पहिरोले पुरेर मङ्गलबारनै मृत्यु भएका ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमल बुढा, सञ्जु विककी छ महिनाकी छोरी सीता विक, र ७० वर्षीया मैतीदेवी विकको शव भेटिएको थियो। बुधबार दिउँसो तीन वर्षीय आरुस थापाको शव पनि फेला परेको थियो, जसको पुष्टि बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले गरिन्।
अध्यक्ष अधिकारीका अनुसार, पहिरोमा परी घाइते भएका १० जनामध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा, र ४६ वर्षीया सङ्गीता बुढाको अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौंँ लगिएको छ।
- Jigyasa media