काठमाडौँ । आइतबारदेखि सोमबारसम्म भएको वर्षा मापनमा सुदूरपश्चिमको कञ्चनपुरमा इतिहासकै ‘अति भारी वर्षा’ भएको छ । नेपालमा वर्षा मापन सुरु भएदेखिको तथ्यांकअनुसार यो इतिहासकै सबैभन्दा बढी वर्षा हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ८ः४५ देखि सोमबार बिहान ८ः४५ बजेसम्म गरिएको मापनमा कञ्चनपुरमा इतिहासकै बढी वर्षा भएको छ । उक्त अवधिमा कञ्चनपुरको दोधारा केन्द्रमा ६२३ दशमलव ९ मिलिमिटर वर्षा मापन गरिएको थियो ।
नेपालमा वर्षा मापनको तथ्यांक राख्न सुरु गरेयताकै यो उच्च हो । नेपालमा सन् १९४७ देखि वर्षा मापन सुरु भएको हो । यसअघि सबैभन्दा बढी वर्षा मकवानपुरमा मापन गरिएको थियो । सन् २०१७ मा मकवानपुरमा ५१६ दशमलव २ मिलिमिटर वर्षा मापन गरिएको थियो । यो नै नेपालमा मापन गरिएको वर्षामध्ये धेरै थियो ।
यसअघि सन् २०१४ मा कैलालीको चिसापानीमा ४९९ दशमलव ८ मिलिमिटर वर्षा मापन भएको थियो । यो मकवानपुरपछिको सबैभन्दा बढी वर्षाको रेकर्ड यही नै हो । बढी वर्षा मापन गरिएको अर्को ठाउँ झापा पनि हो । झापाको कन्काईमा सन् १९८४ मा ४३७ मिलिमिटर वर्षा मापन गरिएको थियो ।
त्यस्तै, सन् १९८० मा बाजुराको मार्तडीमा ४३१ मिलिमिटर र सन् १९७४ मा विराटनगर विमानस्थलमा ४०५ मिलिमिटर वर्षा मापन गरिएको थियो । कञ्चनपुरको महेन्द्रनगरमा भने यसअघि सबैभन्दा धेरै वर्षा सन् २००९ मा भएको थियो । २००९ मा महेन्द्रनगर वर्षा मापन केन्द्रमा ३०९ दशमलव ५ मिलिमिटर वर्षा मापन गरिएको थियो ।
७ महिने शिशुसहित ५ जनाको मृत्यु
शनिबारदेखि परेको वर्षाका कारण कञ्चनपुर र डडेल्धुरामा गरी ५ जनाको मृत्यु भएको छ । सोमबार पुनर्वास नगरपालिका–५ रातोखालेको पानीमा डुबेर सोही स्थानकी १५ वर्षीया लक्ष्मी बोगटी, १५ वर्षीया सिर्जना बोगटी र १६ वर्षीया आरती बोगटीको मृत्यु भएको छ । चारै जना गाउँमा एउटा टोलबाट अर्को टोल जाँदै गर्दा बाटोमा बाढीमा डुबेका प्रहरीले जनाएको छ । उनीहरूसँगै रहेकी १२ वर्षीया अञ्जली बोगटी भने बाँच्न सफल भएकी थिइन् ।
त्यस्तै, कञ्चनपुरमा घरभित्र बाढी पस्दा डुबेर १ शिशुको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ की संगीता धामीका ७ महिने बालकको डुबेर मृत्यु भएको हो । राति सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खस्दा पानीमा डुबेर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानाएको छ । २ दिनदेखि लगातार वर्षा हुँदा कञ्चनपुरको अधिकांश क्षेत्र डुबानमा परेको छ भने बाटाघाटा सबै डुबानमा परेकाले घरबाहिर निस्किन सकिने अवस्था छैन ।
उता, पहिरोमा परी परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय शिक्षक नवराज पनेरुको पनि मृत्यु भएको थियो । शनिबार बेलुका पहिरोबाट खसेको ढुंगाले लाग्दा पनेरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ५ जनाको मृत्यु हुँदा २ जना बेपत्ता छन् । जसमा कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ का २३ वर्षीय डम्बर चौधरी नदीले बगाउँदा बेपत्ता भएका छन् भने कैलालीका कैलारी गाउँपालिका–९, गदरियाका १७ वर्षीय अजय राना आइतबारदेखि पाढीमा परी बेपत्ता छन् । सोही ठाउँको भुररा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका रानाको खोजी भइरहेको छ ।
१ हजार ७०० घर डुबानमा
२ दिनदेखिको वर्षाका कारण कञ्चनपुरमा हालसम्म १ हजार ७५० घर डुबानमा परेका छन् । आइतबार रातिदेखि भीमदत्त, वेदकोट, दोधारा चाँदनी र पुर्नवास नगरपालिका तथा बेल्डाँडी गाउँपालिकाका सयौँ घर डुबानमा परेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले आइतबार राति बाढीमा फसेका ३९ जनाको उद्धार गरेको थियो । जिल्लाभर डुबानमा परेकाको उद्धारका लागि ठाउँ–ठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने हालसम्म १ हजार ७३८ जनालाई सुरक्षित स्थानमा लगिएको छ ।
कञ्चनपुरका ९ वटै स्थानीय तह बाढी र डुबानबाट प्रभावित छन् । भीमदत्त नगरपालिका, दोधारा चाँदनी, वेदकोट र पुर्नबास नगरपालिका तथा बेल्डाँडी गाउँपालिका बाढीबाट बढी प्रभावित छन् । त्यसैगरी आइतबार मध्यरातमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत भाँसी–दैजी खण्डको सुडा चोकमा बाढीले कल्भर्ट भत्काउँदा यातायात सेवा प्रभावित भएको छ । यहाँ अहिले वैकल्पिक सडक प्रयोग गरेर सवारीसाधन सञ्चालन भइरहेका छन् । दोधारा–चाँदनी नगरपालिका–१० कुतियावरलगायत क्षेत्रमा महाकाली र जोडबुढा नदीको बाढी बस्तीमा पसेको छ । बाढी पीडितहरू भने वडा कार्यालय, विद्यालय र आफन्तकहाँ आश्रय लिइरहेका छन् ।
संसद्मा विपद् बहस
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा पनि मनसुनी वर्षापछि देशको अवस्थाबारे सांसदहरूले सरकारलाई प्रश्न गरेका छन् । शून्य समयमा बोल्दै सांसदहरूले मनसुनी वर्षापछि देशभर बाढीपहिरो, डुबानलगायत विपद्बाट भएको धनजनको क्षतिको वास्तविक विवरणबारे जानकारी दिन सरकारसँग माग गरेका छन् ।
बैठकमा सांसद शेरबहादुर कुँवर र हेमराज राईले बाढी, पहिरो र डुबानबाट भएको क्षतिको विवरण उपलब्ध गराउन सरकारसँग माग गरेका थिए भने मनसुनी विपद्का कारण घरबास गुमाएकालाई पुनर्वासको व्यवस्थासहित राहत उपलब्ध गराइ घाइतेको उपचार तथा बेपत्ता भएकाहरूको खोजी कार्यलाई तीव्रता दिँदै जोखिम बस्तीको स्थानान्तरणको माग गरे ।
त्यस्तै, सांसदहरू शोभा ज्ञवाली, सन्तोष चालिसे, सीताकुमारी राना, सपना राजभण्डारी, सीता मिजार, सुशीला श्रिपाली ठकुरी, सूर्यमान तामाङ दोङले प्राकृतिक विपद् व्यवस्थापन, राहत तथा उद्धारका कार्यमा शीघ्रता दिन सरकारलाई आग्रह गरे भने बाढी, पहिरोका कारण देशभरका राजमार्ग अवरुद्ध भएको विषय उठाउँदै सांसदहरूले सहज यातायात आवागमनको व्यवस्था गर्न माग गरेका थिए ।
बाढी, पहिरो र डुबानको जोखिम भएका स्थान पहिचान गरी त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने, पूर्वसूचना प्रणाली प्रभावकारी बनाउनुपर्ने, आकस्मिक उपचारका लागि अस्पताल तयार पारिनुपर्ने, उद्धारका लागि हवाई एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने लगायत माग सांसदहरूले राखेका थिए ।
७५ जनाको मृत्यु, ८८ घाइते, ५ बेपत्ता
काठमाडौँ । मनसुन सुरु भएयता अर्थात् २८ जेठयता देशभर प्राकृतिक विपद्मा परी सोमबारसम्म ७५ जनाले ज्यान गुमाएका छन् भने ८८ जना घाइते र ५ जना बेपत्ता भएका छन् । जसमध्ये सबैभन्दा बढी प्रभाव कोसीमा परेको देखिन्छ । कोसीमा अहिलेसम्म १८ जनाले ज्यान गुमाइसकेका छन् भने २१ जना घाइते छन् ।
गृह मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा परी सोमबार दिउँसोसम्म कोसी प्रदेशमा १८, मधेसमा ३, बाग्मतीमा ५, गण्डकीमा २२, लुम्बिनीमा १८, कर्णालीमा ४ र सुदूरपश्चिम प्रदेशमा ५ जनाको मृत्यु भएको छ भने विपद्मा परी ८८ जना घाइते भएका छन् ।
विपद्का घटनाबाट देशभर ८८ जना घाइते भएका छन् । जसमध्ये कोसी प्रदेशमा २१, मधेसमा ५, बाग्मती ९, गण्डकीमा २६, लुम्बिनीमा ४, कर्णालीमा १५ र सुदूरपश्चिम प्रदेशमा १० जना घाइते भएका छन् । त्यस्तै, कोसी प्रदेशमा २, बाग्मतीमा २ र सुदूरपश्चिममा १ गरी ५ जना बेपत्ता छन् ।
मन्त्रालयका अनुसार यस अवधिमा विपद्का घटनाबाट २ हजार २९६ घरपरिवार विस्थापित भएका छन् भने बाढीका कारण १६१ घर डुबानमा परेका छन् । यसैगरी ९४ वटा घर, ५३ वटा गोठ, ४१ वटा पुल, १ विद्यालय र २ सरकारी कार्यालयमा क्षति पुगेको छ ।
-
Mr. Admin