Breaking News
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||    

नगरप्रमुख, उपप्रमुख सहित कार्यपालिकाका २ सदस्य निलम्बन

  •   २ वर्ष अघि | २१ असार २०८१, शुक्रबार

मधेश। रौतहटको कटहरिया नगरपालिकाका नगरप्रमुख, उपप्रमुख र कार्यपालिकाका २ सदस्य निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि स्वतः निलम्बनमा परेका हुन् ।

कटहरिया नगरपालिका–२ स्थित जमुनिया बजारमा रहेको एउटा सामुदायिक भवनमा २०७८/०७९ मा टायल्सको कामको लागि रकम विनियोजन भएकोमा स्वीकृत लागत अनुमानबमोजिम कार्य नगरी कमसल कार्य गरी अनियमितता गरेको उजुरी अख्तियारमा परेको थियो । अख्तियारले अनुसन्धान गर्दा अनियमित ढंगले १२ लाख ५२ हजार ९४१ रुपैयाँ ९५ पैसाभन्दा बढी भुक्तानी लिई–दिई भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएपछि अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।


अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ को देहाय ‘ग’ र ‘ङ’ बमोजिमको कसुरमा बिगो १२ लाख ५२ हजार ९४१ रुपैयाँ ९५ पैसा कायम गरी बिगो, बिगोबमोजिम जरिवाना र कैद मागदावी गरी विशेष अदालतमा नगरप्रमुख अजय प्रकाश, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियर राजेश कुमार साहविरुद्ध मुद्दा दायर गरेको हो ।


यसै गरी बौद्धिमाभई उपभोक्ता समिति अध्यक्ष सरोज कुमार साह, कोषाध्यक्ष बबिता कुमारी चौधरी र सचिव योगेन्द्र साहविरुद्ध समेत १२ लाख ५२ हजार ९४१ रुपैयाँ ९५ पैसा बिगो मागदाबी लिएर मुद्दा दायर भएको छ । साथै उपमेयर रीतादेवी, योजना शाखा प्रमुख रामनरेश प्रसाद यादव, कार्यपालिका सदस्य समिश विक्रम साह, कार्यपालिका सदस्य मनोजप्रसाद जैसवाल, इन्जिनियर मो. मकसुद आलाको हकमा भने भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा २ बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा २ बमोजिमको कैद र जरिवाना सजाय हुने मागदावी गरिएको छ ।


नगरप्रमुख र उपप्रमुखसहित अन्यविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा चलाएको खबर बाहिरिएपछि कटहरिया नगरपालिकामा हंगामा मच्चिएको छ ।कटहरिया नगरपालिका–४ का वडाध्यक्ष चन्दन कुशवाहाले कटहरिया नगरपालिकालाई भ्रष्टाचारको समुद्र बनेको बताउँदै अख्तियारले राम्रो गरेको प्रतिक्रिया दिएका छन् । एक–डेढ वर्षदेखि विभिन्न सवारी तथा विकास निर्माणका अत्यावश्यक साधनहरू नगरपालिकामा थन्किएर बसेको तर १ करोड रुपैयाँ इन्धनमै मात्र जाने गरेको बताउँदै स्वाएल टेस्टको नाउँमा ४५ लाख रुपैयाँ स्वाहा पार्नेसम्मको काम नगरप्रमुखले गर्दै आएको वडाध्यक्ष कुशवाहको भनाइ छ । वडाध्यक्ष कुशवाहाले कटहरिया नगरपालिकाका चरम भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन् ।


नगरप्रमुख, उपप्रमुख तथा अन्य केही महत्वपूर्ण र जिम्मेवार व्यक्तिहरू निलम्बित भएपछि कटहरिया नगरपालिका र यहाँका जनता बदनाम हुनु दुर्भाग्य भएको वडाध्यक्ष कुशवाहाको दुःखेसो रहेको छ ।

कटहरिया नगरपालिकामा अनियमितता भइरहेको विषयमा बारम्बार समाचारहरु आइरहेका छन् । करिब २ वर्ष पुरानो मुद्दामा अख्तियारले कारबाही गरेको छ तर कटहरियामा व्यापक अनियमितता रहेको निर्वाचित प्रतिनिधिहरुले नै बताउने गरेका छन् ।

  • Reporter

थप