Breaking News
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||    

सन्नाटाका सुस्केराबाट चिर्न खोजियो पीडाको मौनता : प्रकाश सापकोटाको पाँचौं कवितासंग्रह लोकार्पण

  •   १ वर्ष अघि | ६ साउन २०८२, मङ्लबार

जिज्ञासा नेपाल | काठमाडौं, साउन ६

विदेशी भूमिमा रहेर पनि नेपाली माटोको पीडा र प्रेमलाई शब्दमार्फत पोखिरहेकै छन् कवि प्रकाश सापकोटा। डेनमार्कलाई कर्मथलो बनाएका सापकोटाको पाँचौं कवितासंग्रह ‘सन्नाटाका सुस्केरा’ मंगलबार काठमाडौंमा लोकार्पण गरिएको छ।

सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा आयोजित लोकार्पण समारोहमा वरिष्ठ साहित्यकार तथा गीतकार दिनेश अधिकारी, कवि श्रीओम श्रेष्ठ 'रोदन', साहित्यकार पवन आलोक, सुस्मिता नेपाल, राधेश्याम लेकाली, पत्रकार तथा कवि ठाकुर बेलवासे लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

 “कविता केवल शब्द होइन, आत्मा हो” : दिनेश अधिकारी

कार्यक्रमका प्रमुख अतिथि दिनेश अधिकारीले कवितामा सरलता र आत्मिक अनुभवको महत्त्वलाई जोड दिँदै भने,

> “कविले आफ्नो अन्तर्मन पहिल्याउन जान्नुपर्छ। सापकोटाका कवितामा त्यो आत्मिक सरलता र आत्मीयता छ। कविता पढ्दा पाठक कविको मनस्थितिसम्म पुग्न सक्नुपर्छ।”

“सापकोटाले माटो भुलेका छैनन्” : श्रीओम श्रेष्ठ ‘रोदन’

वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ 'रोदन' ले सृजनामा आफ्नोपन र मौलिकताको महत्व औंल्याउँदै भने,

> “सापकोटाको कविता उनी आफैंजस्तै सरल र गहिरो छ। डेनमार्कमा बसेपनि उनी माटोसँग बाँधिएका छन्। देशको बेथिति र दुःखप्रति उनी गहिरो रूपमा व्यथित छन्।”

त्यसैगरी उनले सुनकोसी वाङ्मय प्रतिष्ठानलाई निरन्तरता मिलोस् भनेर शुभकामना व्यक्त गरे।

 कविता–समीक्षा र विश्लेषण

कार्यक्रममा बोल्दै समालोचक यादव भट्टराईले पुस्तकमा छोटा र मझौला कविताहरूको बहुलता रहेको बताउँदै भने,

> “प्रकाश सापकोटाका कविता देशको पीडासँग प्रत्यक्ष गाँसिएका छन्। शिर्षकको घेराभित्रै कविताहरू घुमेका छन्। शब्द सरल छन् तर अर्थ गहिरो। बाहिरीरूपमा सरल देखिने यी कविताहरूभित्र घृणा, आक्रोश र संवेदना लुकेका छन्।”

 “कविता अनुभूतिका चिरफार हुन्” : कवि ठाकुर बेलवासे

सञ्चारकर्मी तथा कवि ठाकुर बेलवासेले सापकोटाको कवितालाई अनुभूतिको उत्खननको रूपमा व्याख्या गरे।

> “विदेशमा बसे पनि कविको मन नेपालमै छ। उनका कविताहरू कुनैपनि विषयको गहिराइमा पसेर पाठकको मन झंक्रित बनाउँछन्। सन्नाटाका सुस्केरा वास्तवमै कवि–मनको धड्कन हो।”

 कार्यक्रममा कवितावाचन र शुभकामना मन्तव्य

कार्यक्रममा कवि दीपक चौलागाईं, रुपा रिसाल लगायतले लोकार्पित कृतिबाट कविता वाचन गरेका थिए।

नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, पवन आलोक, भुँडीपुराण प्रकाशनका केशव पराजुली लगायतका व्यक्तित्वहरूले सापकोटालाई शुभकामना मन्तव्य दिएका थिए। सापकोटाको सन्देश : विदेशमा पनि देशभित्रको मौनता सुने

डेनमार्कमा रहनु भएका कवि प्रकाश सापकोटाले आफ्नो लिखित सन्देश मार्फत सबैलाई धन्यवाद दिँदै भने,

> “देश टाढा भए पनि मन देशमै छ। सन्नाटाका सुस्केरा ती मौन सन्देश हुन्, जो हामीले दैनिक जीवनमा महसुस गर्छौं तर भन्न सक्दैनौं।” सन्देश कवि विश्व सिग्देलले बाचन गरेका थिए।

 कृति विवरण

‘सन्नाटाका सुस्केरा’ प्रकाश सापकोटाको पाँचौं कृति हो, जसलाई सुनकोसी वाङ्मय प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो। मूल्य रु. २५० रहेको यो कृतिको वितरक भुँडीपुराण प्रकाशन हो।

🎤 कार्यक्रम समापन

कार्यक्रममा पूर्ण बहादुर श्रेष्ठ ‘ह्रदयङ्कृत’को स्वागत मन्तव्य, छबिरमण सिलवालको अध्यक्षता, र प्रदीप सापकोटाको आकर्षक सञ्चालन रहेको थियो।

कार्यक्रमको मिडिया साझेदार इ–खबर नेट मिडिया रहेको थियो।

  • Jigyasanepal

थप