ढाका, बंगलादेश – नेपाल र बंगलादेशबीचको साहित्यिक सम्बन्धलाई थप सुदृढ गर्दै ढाकास्थित नेपाली दूतावास तथा बंगलादेश–नेपाल फ्रेन्डशिप सोसाइटीको संयुक्त आयोजनामा एक विशेष साहित्यिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको प्रमुख अतिथि बंगलादेशका संस्कृति मन्त्री मुस्तफा सरवार फारोकी रहेका थिए। उनले नेपाल–बंगलादेश मित्रताको बलियो आधारभूत पक्ष साहित्य, भाषा, र संस्कृति रहेको उल्लेख गर्दै सार्वजनिक कूटनीतिको माध्यमबाट दुई देशको सम्बन्धलाई अझ मजबुत बनाउने नेपाली दूतावासको प्रयासको प्रशंसा गरे।

सांस्कृतिक सम्बन्धलाई मजबुत पार्ने साहित्यिक आदानप्रदान
नेपालका लागि बंगलादेशका महामहिम राजदूत घनश्याम भण्डारीले नेपाल र बंगलादेशबीचको सांस्कृतिक सम्बन्ध ऐतिहासिक रूपमा गहिरो रहेको उल्लेख गर्दै, साहित्यिक रचनामार्फत जनता–जनताबीचको सम्बन्ध अझ प्रगाढ बनाउने आवश्यकता औंल्याए। साथै, उनले बिद्यार्थीहरूको कलात्मक सिर्जनाले अन्तर-सांस्कृतिक समझदारीलाई प्रवर्द्धन गर्नेमा विश्वास व्यक्त गरे।
नेपाल स्रष्टा समाजका अध्यक्ष ओम श्रेष्ठ ‘रोदन’ ले ‘वर्तमान नेपाली साहित्य र संस्कृति’ विषयमा कार्यपत्र प्रस्तुत गरे भने बंगला एकेडेमीका मुजफ्फर हुसेन ले ‘बंगलादेशको साहित्य: संघर्ष र रचनात्मकताको प्रतीक’ विषयमा कार्यपत्र प्रस्तुत गरे।
साहित्यिक प्रस्तुतिहरू
नेपालका तर्फबाट
नेपाल स्रष्टा समाजका संरक्षक पवन आलोक,
**जयदेव भट्टराई,
**प्रधुम्न जोशी,
**प्रदीप सापकोटाले आफ्ना रचनाहरू प्रस्तुत गरे।
बंगलादेशका तर्फबाट
**सलिम सुलेरी उस्मान गोनीले आफ्ना सिर्जनाहरू वाचन गरे।
चित्रकला प्रतियोगिता र विशेष प्रकाशन विमोचन
बंगलादेश–नेपाल फ्रेन्डशिप सोसाइटीका अध्यक्ष लायन मोशिउर अहमद हुसैन ले विद्यार्थी र साहित्यिक विद्वानहरूलाई संलग्न गराउनु द्विपक्षीय सम्बन्धलाई प्रवर्द्धन गर्ने महत्त्वपूर्ण माध्यम भएको बताए।
त्यसैगरी, ‘नेपाल मेरो आँखाबाट’ विषयअन्तर्गत चित्रकला प्रतियोगिता–२०२५ का विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरियो। साथै, प्रतियोगिताबाट छनोट गरिएका २० उत्कृष्ट कलाकृतिहरू समावेश गरिएको विशेष प्रकाशन विमोचन गरियो।
सांस्कृतिक सम्बन्ध विस्तारको प्रतिबद्धता
कार्यक्रमले नेपाल–बंगलादेशबीचको साहित्यिक र सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ। यस अवसरमा दुई देशबीचको साहित्यिक सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरियो।
कार्यक्रमको सञ्चालन योजना बमजन ले गरेकी थिइन्।
- Jigyasa media