जिज्ञासा नेपाल, काठमाडौं
असार १५ सुर्फ खेतको हिलोमा किसानकाे गहिराे पसिना मात्र हैन, सर्जककाे कलमले कोरेकाे व्यथा पनि हाे । यही सन्देशकाे साथ, राष्ट्रिका साहित्य प्रतिष्ठानले यसपालिकाे असार १५ ‘उर्वरा उत्सव’ काव्य वाचन गरेर साहित्यिक भावनाको रोपाइँ गर्याे ।
कार्यक्रमकाे उद्घाटन वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशीले पानसमा वत्ती बालेर गरे । उनले सुदूरपश्चिम र कर्णाली प्रदेशकाे लोक संस्कृति र देउडा परम्परालाई स्मरण गर्दै केही देउडा कविता पनि सुनाए । जोशीले राष्ट्रिकासँग सहकार्य गरेर सुदूरपश्चिमतिर सांस्कृतिक भ्रमण गर्नुपर्नेमा जाेड दिएका थिए ।
कार्यक्रममा **नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ 'रोदन'**ले किसानकाे जीवनलाई समेट्ने कविताकाे आवश्यकता औंल्याउँदै भने— "आज कविता सुनेपछि खेतमा गएकाे अनुभूति भयो। असार १५ केवल रोपाइँ मात्र हैन, किसानकाे कथा हाे। कविहरूले ४० अर्बकाे धान आयात जस्ता यथार्थलाई कलमबाट उठाउनु आवश्यक छ।"
कार्यक्रममा साझा प्रकाशन अध्यक्ष शेखर गिरी, लेखक-सञ्चारकर्मी राजेश खनाल, अनेसास नेपाल च्याप्टर अध्यक्ष राजेन्द्र केसी, नेपाल लेखक संघ अध्यक्ष वियोगी बुढाथोकी, उपन्यासकार समाज अध्यक्ष शंकर भारतीलगायतले असार १५ काे सांस्कृतिक र साहित्यिक अर्थबारे मन्तव्य राखे।
कार्यक्रमका अध्यक्ष तथा प्रतिष्ठान प्रमुख ऋषभदेव घिमिरेले भने— “असार १५ मा किसान खेतमा हतार हुन्छन्, हामी सर्जक भने भावना रोप्न हतार हुन्छाैं।” उनले प्रतिष्ठानका आगामी गतिविधि र प्रकाशन योजनाहरूकाे जानकारीसमेत प्रस्तुत गरे।
काव्य वाचन सत्रमा कविहरू श्रीबाबु कार्की, मनोजादित्य न्यौपाने, गोकुल अधिकारी, देवेन्द्र के.सी., एलिसा ढुँगाना, सुष्मा आचार्य, त्रिभुवनचन्द्र वाग्ले, डा. शान्तिमाया गिरी, रचना खनाल जोशी, डा. सिर्जना शर्मा, मुकुन्द पौडेल, निर्मलरमण पराजुली, सुमन वर्षा, प्रदीप सापकोटा, माधव विडारी, शेखर गिरीलगायतले असार, किसान र प्रकृतिका विविध सन्दर्भमा कविता सुनाए। कविताहरूले खेतीपाती मात्र हैन, देशकाे आयात र यथार्थकाे गहिराे चित्रण समेत गरे।
कार्यक्रममा दही–चिउरा सेवन गरेर असार १५ काे परम्परा पालना गरिएको थियो।
प्रतिष्ठानकी उपाध्यक्ष डा. शान्तिमाया गिरीले स्वागत मन्तव्य दिएकी थिइन् भने, कार्यक्रम सञ्चालन महासचिव मधु पाठकले गरेका थिए।
🌾 असारको हिलोमा कविता रोप्ने यस्तो प्रयासले, किसानको श्रम र सर्जकको चेतनाबीचको सेतु अझ गहिरिएको अनुभूति दिलायो।
-
Jigyasanepal