काठमाडौं । बरिष्ठ कवि तथा गीतकार कालीप्रसाद रिजाललाई ‘रेखा-पवन स्रष्टा सम्मान’ प्रदान गरिएको छ। नेपाल स्रष्टा समाजको आयोजनामा राजधानीमा आयोजित विशेष कार्यक्रममा उनलाई नगद १ लाख १ सय ११ रुपैयाँ, सम्मानपत्र, खादा र माला अर्पण गरी सम्मान गरियो।
उक्त सम्मान बरिष्ठ साहित्यिक पत्रकार तथा साहित्यकारद्वय रोचक घिमिरे र नगेन्द्रराज शर्मा, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, तथा पुरस्कारका संस्थापकमध्येकी रीता कंडेल बस्नेत लगायतले संयुक्त रूपमा समर्पण गरेका थिए।
रिजालको पाँच दशक लामो योगदानको उच्च सम्मान
नेपाली साहित्यमा पाँच दशकभन्दा बढी समयदेखि कविता तथा गीत लेखनमा योगदान पुर्याउँदै आएका रिजाललाई सम्मान गर्ने निर्णय बरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको संयोजकत्वमा गठित नाम सिफारिस समितिले गरेको थियो। समितिले सिफारिस गरेको नामलाई नेपाल स्रष्टा समाजको केन्द्रिय कार्यसमितिले अनुमोदन गरेको थियो।
"जागीरले बाँध्न खोज्छ, लेखनीले उन्मुक्त हुन खोज्छ" – कालीप्रसाद रिजाल
सम्मान ग्रहण गर्दै स्रष्टा रिजालले साहित्य भावनात्मक अभिव्यक्तिको माध्यम भएको बताउँदै आफ्ना अनुभवहरू साझा गरे।
"जागीरले बाँध्न खोज्ने अनि लेखनीले उन्मुक्त हुन खोज्दो रहेछ। धेरैपटक सत्ताको धरपकडमा परेँ," उनले भने।
उनले कार्यक्रममा आफ्नो चर्चित कविता "कमसेकम" वाचन गर्दै देशप्रेमको भावनाले ओतप्रोत सृजनाहरूको आवश्यकता औंल्याए।
साहित्यिक हस्तीहरूको धारणा
कार्यक्रममा बोल्दै पत्रकार तथा साहित्यकार रोचक घिमिरेले गीतकार रिजाललाई पहिलो पटक भेट्दा पाएको अनुभव सुनाए। अर्का वक्ता नगेन्द्रराज शर्माले योग्य व्यक्तिलाई सम्मान गरिएकोमा खुसी व्यक्त गरे।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले सम्मानित व्यक्तित्वहरूको योगदानलाई जिउँदै रहँदा सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे।
"मरेपछि कसैलाई सम्मान गर्नुभन्दा जिउँदै रहँदा योगदानको सम्मान गर्नुपर्छ," उनले भने।
उनले प्रज्ञा प्रतिष्ठानप्रति असन्तुष्टि व्यक्त गर्दै भने, "प्रज्ञाको घुम्ने मेचमा बस्नेहरूले के गर्छन्, थाहा छैन। तर, हामीले थुप्रै साहित्यिक कार्यक्रम गरिसकेका छौं।"
पुरस्कार संस्थापकको भावना
पुरस्कारका संस्थापक तर्फबाट बधाई तथा शुभकामना मन्तव्य रीता कंडेल बस्नेतले व्यक्त गरिन्। उनले आफ्ना पिता बरिष्ठ साहित्यकार पवन आलोक तथा आमा रेखा कँडेलको वैवाहिक वर्षगाँठको अवसर पारेर यो पुरस्कारको अक्षयकोष स्थापना गरिएको जानकारी दिइन्।
कार्यक्रममा सम्मानित स्रष्टा कालीप्रसाद रिजालको व्यक्तित्वबारे नेपाल स्रष्टा समाजका उपाध्यक्ष डा. सदानन्द कडेलले चर्चा गरेका थिए। समाजका महासचिव देविका तिमल्सिनाले कार्यक्रम सञ्चालन गरे भने कोषाध्यक्ष तारा सुवेदीले स्वागत मन्तव्य दिएकी थिइन्।
यो सम्मान अक्षयकोषमार्फत संस्थापक परिवारका सदस्यहरू बिमला कंडेल थापा, रीता कंडेल बस्नेत, अनिता कंडेल, सुनिल कंडेल, तथा बुहारी माला कटुवाल कंडेलले व्यवस्थापन गरेका हुन्।
- Jigyasa media