काठमाडौं ।
सवारीसाधनमा प्रयोग गर्न लागिएको इम्बोस्ड नम्बर प्लेट अंग्रेजी भाषामात्र राख्ने सरकारी निर्णयविरुद्ध राष्ट्रिका साहित्य प्रतिष्ठानले कडा आपत्ति जनाएको छ।
प्रतिष्ठानका अध्यक्ष ऋषवदेव घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ—
“नेपाली भाषा नेपालको संविधानअनुसार राष्ट्रभाषा र सरकारी कामकाजको भाषा मात्र नभई बहुसंख्यक नेपालीले बुझ्ने र बोल्ने जनसम्पर्कको भाषा पनि हो। त्यसलाई विस्थापित गरी अंग्रेजी भाषामा मात्र इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णय अत्यन्त खेदजनक र आपत्तिजनक छ।”
विज्ञप्तिमा सरकारले नेपाली भाषाप्रति बारम्बार गरेको अपमानपूर्ण व्यवहार अस्वीकार्य भएको उल्लेख गर्दै, प्रविधिसम्बन्धी पूर्वाधार नै नहुँदा आमनागरिक जबर्जस्ती विरोधमा उत्रनुपरेको तथ्य पनि सर्वविदित रहेको जनाइएको छ।
प्रतिष्ठानले भनेको छ—
“संसारका विभिन्न मुलुकमा आफ्नै भाषा प्रयोग गरेर इम्बोस्ड नम्बर प्लेट राखिएको छ। तर नेपालमा भने उल्टै राष्ट्रभाषा विस्थापित गरेर अंग्रेजी भाषामात्र प्रयोग गर्ने निर्णय कुनै पनि दृष्टिकोणले उपयुक्त छैन।”
त्यसैले प्रतिष्ठानले सरकारलाई तत्काल निर्णय सच्याउन आग्रह गर्दै, नेपालीपन झल्किने गरी अनिवार्य रूपमा नेपाली भाषामा नम्बर प्लेट राख्न जोडदार माग गरेको छ।
-
Jigyasanepal