काठमाडौं, वैशाख ६ ।नेपाली साहित्यका जीवित प्रतीक, सांस्कृतिक अनुसन्धानकर्ता र शब्दका सच्चा साधक तुलसी दिवस यस वर्षको बसुन्धराश्री पुरस्कार बाट सम्मानित हुने भएका छन्। बसुन्धरा मान प्रज्ञा प्रतिष्ठानको आज सम्पन्न विशेष बैठकले यो निर्णय गर्दै दिवसको दीर्घ योगदानको उच्च सम्मान गरेको हो।
नेपाली लोकसंस्कृति, लोककथा, लोकधर्म र आधुनिक कविता मार्फत नेपाली बाङ्मयलाई गहिरो, समृद्ध र विश्वसनीय बनाउँदै आएका तुलसी दिवसलाई प्रतिष्ठानले ७५ हजार रुपैयाँ राशिको यो प्रतिष्ठित पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष डा. दुबसु क्षेत्रीले जानकारी दिए।
विसं १९९८ मा धनकुटामा जन्मिएका दिवसका रचनाहरूमा नेपालीपनको सुगन्ध, संस्कृति र चिन्तनको गहिरो बिम्ब पाइन्छ। उनका ‘धिमाल लोकधर्म संस्कृति’, ‘नेपाली लोककथा’ लगायत दर्जनौँ कृतिहरू नेपाली समाजको ऐतिहासिक दस्तावेजसरह मानिन्छन्।
यस्तै, मानश्री पुरस्कार मार्फत यस वर्ष सम्मानित हुने अर्की सशक्त साहित्यकार हुन् — तोया गुरुङ। नेपाली साहित्यमा मुक्तक, कविता र कथामार्फत गहन र संवेदनशील सन्देश प्रवाह गर्दै आएको योगदानको कदर गर्दै उनलाई ५० हजार राशिको मानश्री पुरस्कार प्रदान गरिने निर्णय भएको हो।
विसं २००४ मा सिन्धुपाल्चोकमा जन्मिएकी गुरुङका ‘सूर्यदह’, ‘कुसुम’, ‘पुनरावृत्ति’, ‘अस्पृश्य’ जस्ता कृतिहरू नेपाली साहित्यमा विचारको गहिराइ, महिला चेतना र भाषिक सौन्दर्यको प्रतीक मानिन्छन्।
२०५७ सालदेखि साहित्यको सम्मानमा समर्पित बसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले यसपटक पनि दुई विशिष्ट साधकको सम्मानमार्फत नेपाली साहित्यको उज्यालो इतिहासलाई थप गौरवपूर्ण बनाएको छ।
- A