साउन १५, २०८२, काठमाडौँ
पद्मश्री साहित्य पुरस्कारका लागि यस वर्षको उत्कृष्ट कृति सूची सार्वजनिक गरिएको छ। हेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान, रत्ननगर–१, चितवनले दोस्रो चरणको संक्षिप्त सूची सार्वजनिक गर्दै पाँच उत्कृष्ट कृतिहरूको नाम घोषणा गरेको हो।
पाँच उत्कृष्ट कृतिहरू यस्ता छन्:
1. ‘उरमाल’ – छुदेन काविमो
2. ‘छालबाटो’ – रमेश भुसाल
3. ‘प्रणाम सगरमाथा’ – भवानी खतिवडा
4. ‘स्व उपन्यास’ – सरस्वती प्रतीक्षा
5. ‘हिउँको गीत’ – तीर्थ गुरुङ
प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेका अनुसार यस वर्ष पुरस्कारका लागि २ सय ३ वटा कृति प्राप्त भएका थिए। तीमध्ये गएको असार १५ गते पहिलो चरणमा उत्कृष्ट १५ कृतिको सूची सार्वजनिक गरिएको थियो। त्यसपछि दोस्रो चरणको मूल्याङ्कनपछि पाँच उत्कृष्ट कृति छनोट गरिएका हुन्।
अब के हुन्छ?
अब तेस्रो तथा अन्तिम चरणको समीक्षा र निर्णयपछि एक भाग्यमानी साहित्यिक कृतिलाई यस वर्षको पद्मश्री साहित्य पुरस्कार प्रदान गरिनेछ। यो पुरस्कार नेपाली साहित्यको क्षेत्रमा प्रतिष्ठित मानिन्छ र हरेक वर्ष समाज, भाषा, संस्कृति, र मानव चेतनाको उन्नयनमा योगदान पुर्याउने उत्कृष्ट कृति र स्रष्टालाई प्रदान गरिन्छ ।
-
Jigyasanepal