Breaking News
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     अर्नबको प्रभाव घटेसँगै मौसममा सुधार हुँदै, आजदेखि वर्षा र हिमपात कम हुने    ||     वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||    

बत्ती बाल्ने महिना सुरु

  •   २ वर्ष अघि | १ साउन २०८१, मङ्लबार

बैतडी । सुदूरपश्चिममा साउनलाई बत्ती बाल्ने महिनाका रुपमा मनाइन्छ । यस महिनालाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा ‘कालो महिना’ पनि भनिन्छ । साउने सङ्क्रान्तिदेखि नै यहाँका मन्दिरमा पाठपूजा गर्ने चलन रहिआएको जानकार जयानन्द भट्टले बताए ।


साउनमा देवीदेवता बैकुण्ठमा शयन गर्ने विश्वासले यस महिनालाई कालो महिना भन्ने गरिन्छ । भट्टले भने, ‘साउनमा सबैतिर हरियाली हुने भएकाले देवीदेवता सुत्ने विश्वास गरिन्छ, हरिशयनी एकादशीदेखि साउनसम्म भगवान् बैकुण्ठमा बस्ने गर्छन् ।’


भगवान् शयन गरेका बेला बत्ती बाल्दा रक्षा हुनाका साथै कुनै पनि वैरी नलाग्ने जनविश्वास छ । आजदेखि भक्तजनले बिहानै उठेर नुहाइधुवाइ गरी एक महिनासम्म व्रत बसी देवीदेवताका मन्दिरमा गई पूजापाठ गर्नाले मनले चिताएको पूरा हुनुका साथै अञ्जानमा गरिएका पाप नष्ट हुने धार्मिक विश्वास रहिआएको छ ।


बैतडीमा सातबैनी भगवती र सातभाइ केदार देवताका मन्दिर रहेकाले नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी आउने गरेको दशरथचन्द नगरपालिका–२ का दीपेन्द्र बोहराले बताए ।


जिल्लाको सुर्नया गाउँपालिकामा रहेको रौलाकेदार, सिगास, दशरथचन्द नगरपालिकामा रहेको ग्वाल्लेक केदार, जगन्नाथ, ईश्वरी गंगाधाम, सिगास गाउँपालिकामा रहेको सिगास मन्दिर, शिवनाथमा रहेको शिवनाथ मन्दिर, दोगडाकेदारमा रहेको दोगडाधाम, देउलेक केदार, भिटाकेदार मन्दिरमा साउनभर दर्शनार्थीहरुले दर्शन गर्न गर्दछन् ।


राति जाग्राम बस्ने र बत्ती बाल्ने चलन पनि छ । जिल्ला बाहिर रहनेहरु पनि यस महिना पूजापाठका लागि जिल्ला भित्रिने गर्दछन् ।


हर्यालो हालिँदै


आज खेतबारीमा रोगब्याधी नलागोस् र बालीनालीमा उत्पादन बढोस् भन्दै कुरिलो, मेललगायत हरिया वनस्पतिको ह¥यालो हाल्ने चलन छ । कुरिलो, मेललगायत हरिया वनस्पति खेतबारीको आलीमा रोप्नुलाई हर्यालो हाल्नु हो । साउनमा देवीदेवता शयन गर्ने भएकाले खेतबारीमा लगाइएको अन्नबालीको संरक्षण होस् भनेर हर्यालो हाल्ने गरिएको संस्कृतिका जानकार जयानन्द भट्टले बताए ।


साउने सङ्क्रान्ति दिन ब्राह्मण र चेलीबेटीलाई टीका लगाएर दानदक्षिणा दिने पनि गरिन्छ । यस्तै साउनमा खीर पकाएर खाने तथा चेलीबेटीलाई मीठा खाद्यान्न परिकार पकाएर दिने गरिन्छ । असार महिनाभर हिलोमा पसेर खेतीपाती गर्नुपर्दा शरीर चिलाउने, खटिरा, लुतोआदि आउनसक्ने भएकाले जीउलाई सफासुग्घर गरी यस दिन लुतो फाल्ने गरिन्छ ।


गाउँघरमा यस दिन साँझ अँगेनामा कुरिलो र तीतेपाती सल्काएर एउटा अगुल्टो झिकेर चारै दिशामा घुमाउँदै ‘लुतो लैजाऊ’ भनी फ्याँक्ने गरिन्छ । त्यसरी लुतो फालिसकेपछि जीउमा घाउ, खटिरा आएको छ भने कुकुरडाइनो जलाई त्यसको मलम बनाएर लगाउने चलन छ ।– रासस

  • RSS

थप