त्रिशूली (नुवाकोट) । नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइको हत्या भएको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ। हत्या गर्ने व्यक्तिले स्वयं प्रहरीलाई फोन गरेर अपराध स्वीकारेपछि खोलामा लुकाइएको अवस्थामा दाजुभाइको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार किम्ताङबेँसी निवासी ४३ वर्षीय सोमनाथ तामाङ र उनका ३६ वर्षीय भाइ सूर्यमान तामाङको हत्या गरिएको अवस्थामा शव बरामद गरिएको छ।
प्रहरी नायब उपरीक्षक बिक्रम लामाका अनुसार मंगलबार राति एक व्यक्तिले प्रहरीलाई फोन गर्दै आर्थिक लेनदेनको विवादका कारण आफूले दाजुभाइको हत्या गरेको र शव खोलामा लुकाएको जानकारी दिएका थिए। त्यसपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले दिएको सूचनाका आधारमा खोजतलास गर्दा दुवै जनाको शव खोलामा ढुंगाले थिचेर लुकाइएको अवस्थामा फेला परेको हो। घटनास्थल सडक पहुँचभन्दा टाढा, करिब पाँच घण्टा पैदल हिँड्नुपर्ने दुर्गम क्षेत्रमा रहेको प्रहरीले जनाएको छ।
‘फोन गर्ने व्यक्तिले आर्थिक विवादका कारण हत्या गरेको स्वीकार गरेका छन्,’ डीएसपी लामाले भने, ‘उनी फरार अवस्थामा छन्। खोजी कार्य तीव्र पारिएको छ।’
प्रहरीका अनुसार फोन गर्ने व्यक्तिले गोली प्रहार गरेर हत्या गरेको दाबी गरे पनि घटनास्थलबाट एकथान खुकुरी बरामद भएको छ। त्यसैले हत्या कसरी गरियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
परिवारका सदस्यका अनुसार सोमनाथ र सूर्यमान मंगलबार बिहान कुलो निर्माणको कामका लागि घरबाट निस्किएका थिए। त्यसपछि उनीहरू सम्पर्कविहीन बनेका थिए। लामो समयसम्म सम्पर्क नभएपछि परिवार चिन्तित बनेको थियो।
घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ। आर्थिक लेनदेनको विवादले दोहोरो हत्यासम्मको रूप लिएपछि गाउँ नै शोकमा डुबेको छ। प्रहरीले फरार आरोपीलाई पक्राउ गर्न विभिन्न स्थानमा खोजी अभियान सञ्चालन गरिरहेको जनाएको छ।
-
Jigyasanepal