गृष्मा इन्टरप्राइजेजसँग ग्यास बिक्रीको विवरण माग
काठमाडौं । बजार अनुगमनका क्रममा उपभोक्तासँग तोकिएको मूल्यभन्दा बढी रकम असुलेको भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं महानगरपालिका–१७, ठहिटीस्थित एभरेष्ट मार्ट स्टोर प्रालिलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ।
विभागका अनुसार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत महँगो मूल्यमा सामान बिक्री गरेको पुष्टि भएपछि उक्त कारबाही गरिएको हो।
यसैबीच गृष्मा इन्टरप्राइजेजलाई व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। साथै, साउन १ गतेदेखि हालसम्मको खाना पकाउने ग्यासको खरिद–बिक्री तथा वितरण विवरण र बिल–बिजक समेत लिएर तीन दिनभित्र उपस्थित हुन भनिएको विभागले जनाएको छ।
विभागले अन्य केही व्यावसायिक फर्मलाई भने आवश्यक सुधार गर्न निर्देशन दिएको छ। स्थानीय उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको सहभागितामा नियमित बजार अनुगमन जारी रहेको विभागको भनाइ छ।
खाना पकाउने ग्यासको आपूर्ति तथा वितरणमा देखिएका समस्यालाई मध्यनजर गर्दै विभागले अनुगमन र निरीक्षणलाई थप प्रभावकारी बनाएको जनाएको छ। विभागका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन र कारबाही प्रक्रिया अघि बढाइएको छ।
-
Jigyasanepal