भदौ १२, २०८३ शुक्रबार, काठमाडौं ।
चीनको तिब्बततर्फ छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगम क्षेत्रमा पहिरोका कारण बनेको ठूलो ताल फुटेको सूचना प्राप्त भएपछि रसुवामा सतर्कता बढाइएको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार चिनियाँ पक्षबाट ताल फुटेको जानकारी प्राप्त भएको हो। सूचना पाएलगत्तै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गर्दै आवश्यक सर्कुलर गरिएको छ।
छोचेन खोला र पुरेपु नेपालतर्फ आएपछि भोटेकोशी–त्रिशूली नदी प्रणालीसँग जोडिने नदी हुन्। त्यसैले चीनतर्फ ताल फुट्दा त्यसको प्रभाव नेपालतर्फ समेत पर्न सक्ने जोखिम रहेको छ।
यसअघि बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको बताइएको थियो। सम्भावित जोखिमलाई ध्यानमा राख्दै चिनियाँ जलस्रोत निकायले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको थियो।
चीनतर्फ उद्धार टोली पनि पछि हटाइयो
ताल फुटेपछि थप बाढीको जोखिम बढेकाले चीनले तिब्बतमा सञ्चालन भइरहेको उद्धार अभियानसमेत अस्थायी रूपमा रोकेको जनाइएको छ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार उद्धारमा खटिएका टोलीलाई घटनास्थलबाट करिब एक किलोमिटर टाढा सुरक्षित स्थानमा हट्न निर्देशन दिइएको छ। उद्धार टोलीलाई तत्कालका लागि स्ट्यान्डबाइमा रहन र थप निर्देशनको प्रतीक्षा गर्न भनिएको छ।
पहिरोबाट बनेको तालमा पानीको मात्रा बढ्दै गएपछि बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै दुवै देशतर्फ नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।
रसुवाका नदी तटीय क्षेत्रका बासिन्दालाई अनावश्यक जोखिम नलिन, सुरक्षित स्थानमा रहन तथा प्रशासन र सुरक्षा निकायको सूचनालाई तत्काल पालना गर्न आग्रह गरिएको छ।
-
Jigyasanepal