Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

चुनावका दिन अत्यावश्यक सवारीलाई पास नचाहिने एम्बुलेन्सदेखि प्रेससम्म आठ प्रकारका सवारी साधनलाई छुट

  •   ७ महिना अघि | १६ फाल्गुन २०८२, शनिबार

काठमाडौँ, फागुन १६ — आउँदो प्रतिनिधिसभा निर्वाचनका दिन अत्यावश्यक सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले आठ प्रकारका सवारी साधनलाई पासविना नै सञ्चालन गर्न पाइने भएको छ।

निर्वाचन आयोगले शनिबार सूचना जारी गर्दै एम्बुलेन्स, दमकल लगायतका सेवा सम्बन्धित सवारी साधनलाई पास आवश्यक नपर्ने व्यवस्था गरिएको जनाएको हो। आयोगका अनुसार छुट पाएका सवारी साधनहरू सम्बन्धित प्रयोजनका लागि मात्र प्रयोग गर्न पाइनेछ; असम्बन्धित यात्रु बोक्न भने कडाइका साथ निषेध गरिएको छ।

आयोगले एम्बुलेन्स, दमकल र शववाहनलाई पास नचाहिने व्यवस्था गरेको छ। त्यस्तै, खानेपानीका ट्यांकर, दूध, फलफूल, तरकारी, माछा, मासु तथा पेट्रोलियम पदार्थ बोकेका सवारी साधन पनि यस छुटभित्र पर्नेछन्।

यसका अतिरिक्त दूरसञ्चार, खानेपानी, विद्युत् तथा ढल मर्मतसम्बन्धी सेवामा प्रयोग हुने सवारी साधनलाई पनि पास आवश्यक नपर्ने जनाइएको छ। अस्पताल सेवाका सवारी साधनले चिकित्सक र स्वास्थ्यकर्मीलाई घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म आवतजावत गराउँदा पनि छुट पाउनेछन्।

निर्वाचनका दिन विशेष अवस्थाका नागरिकलाई सहजीकरण गर्न पनि आयोगले व्यवस्था गरेको छ। हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, आफ्नै बच्चा बोकेकी महिला, किरियापुत्री, शारीरिक रूपमा अशक्त वा अपांगता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक मतदाता र एक जना सहयोगी बोकेका सवारी साधनलाई पनि पास नचाहिनेछ।

यस्तै, नम्बर प्लेटमा ‘सीडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारी साधन, आयोगबाट जारी परिचयपत्रबाहक पर्यवेक्षकले प्रयोग गर्ने सवारी, राष्ट्रिय मानव अधिकार आयोगबाट अनुगमनका लागि प्रयोग हुने सवारी र प्रेस पास भएका सञ्चारकर्मीका सवारी साधनलाई पनि पास आवश्यक नपर्ने आयोगले स्पष्ट पारेको छ।

निर्वाचनको दिन अत्यावश्यक सेवा, आपतकालीन स्वास्थ्य सहायता तथा आधारभूत आपूर्ति प्रणालीमा अवरोध नहोस् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको आयोगले जनाएको छ।

  • Jigyasanepal

थप