काठमाडौँ ।
‘जेनजी’ आन्दोलनका क्रममा प्रहरीले देशभर करिब १३ हजार राउन्ड गोली प्रहार गरेको तथ्यांक बाहिर आएको छ। तीमध्ये रबरका, ग्यास गन र घातक गोली समेत प्रयोग गरिएको खुलेको हो।
प्रहरी उच्च स्रोतका अनुसार, आन्दोलनका दुई दिन (भदौ २३ र २४) मा मात्रै पाँच हजार पाँच सय थान ग्यास गन ‘फायर’ गरिएको थियो। यस्तै, घातक गोली समेत ठूलो मात्रामा प्रयोग भएको पाइएको छ। काठमाडौँ उपत्यकामा मात्र करिब १,५०० को हाराहारीमा घातक गोली प्रहार गरिएको प्रहरी स्रोतले जनाएको छ।
भदौ २३ गते सामाजिक सञ्जाल निष्क्रिय पारिएको विरोधमा ‘जेनजी’ले देशभर प्रदर्शन थालेका थिए। त्यही दिन प्रहरीद्वारा अधिकांश गोली प्रहार भएको देखिन्छ।
यस क्रममा प्रहरीका करिब दुई हजार हतियार प्रदर्शनकारीले लुटेको र केही गोली लुटिएका हतियारबाट प्रदर्शनकारीले नै प्रहार गरेको तथ्य समेत बाहिर आएको छ।
प्रहरी प्रधान कार्यालयले यसबारे छानबिन गर्न डीआईजी दिकम रेग्मीको नेतृत्वमा समिति गठन गरेको छ। समितिले प्रहरीद्वारा प्रयोग भएका गोली र लुटिएका हातहतियारबारे विस्तृत तथ्य संकलन गरिरहेको छ।
उक्त आन्दोलनमा गोली लागेर मात्र भदौ २३ गते १९ युवाले ज्यान गुमाएका थिए। यस्तै, देशभर मृत्यु हुनेको संख्या ७३ पुगेको छ, जसमा आगजनीका कारण ज्यान गुमाउनेहरू समेत छन्।
यसैबीच, आन्दोलन नियन्त्रणका क्रममा सशस्त्र प्रहरी बलले पनि गोली प्रहार गरेको तर त्यसबारे विस्तृत तथ्यांक संकलन भैरहेको जनाइएको छ।
👉 जेनजी आन्दोलनले भड्काएको राजनीतिक संकटपछि ओली नेतृत्वको सरकार पतन भइसकेको बताइन्छ र देश अहिले नयाँ अन्तरिम व्यवस्थामा प्रवेश गरिसकेको छ।
-
Jigyasanepal