काठमाडौं । जेनजी प्रदर्शनका क्रममा काठमाडौं उपत्यकामा प्रहरीमाथि भएको आक्रमणले भयावह रूप लियो। प्रहरी वृत्त महाराजगञ्जका प्रहरी जवान उत्तम थापा र प्रहरी सहायक निरीक्षक मिलन रायलाई प्रदर्शनकारीले नियन्त्रणमा लिएर लाठी–भाटा प्रहार गरी हत्या गरे भने, कोटेश्वर प्रहरी प्रभागका सहायक हवल्दार अमृत गुरुङलाई धारिलो हतियारले घाँटी काटेर मारियो।
महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत २१ जनालाई भने नेपाली सेनाको हेलिकोप्टरले छतबाट उद्दार गरी जोगाइएको थियो। तर, अन्य धेरै प्रहरी भने मृत्युको मुखबाट भाग्दै वाग्मती नदीमै हाम फाल्न बाध्य बने।
वाग्मतीमा हामफालेका प्रहरी
प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत सहायक हवल्दार जगनप्रसाद कुसवाह ती मध्ये एक हुन्। करिब दुई वर्षदेखि बानेश्वरमा कार्यरत कुसवाहले भयानक क्षणलाई सम्झिँदै भने,
“त्यो दिन त मृत्युको मुखबाट जोगिएँ। दुई मिनेट ढिलो भएको भए म बाँच्ने अवस्था थिएन। तर, झण्डा बोकेका एक युवाले भगवानझैँ आएर मलाई जोगाए।”
२४ भदौको दिउँसो करिब १२ बजेतिर भीडले ढुंगामुढा सुरु गरेपछि प्रहरी कार्यालय नियन्त्रणमा राख्न नसक्ने अवस्था बन्यो। अपराधमा थुनामा रहेका कैदीलाई छोड्ने आदेश आएपछि उनीहरु पनि प्रदर्शनकारीसँग मिसिएर प्रहरीमाथि झन् निर्मम आक्रमण गर्न थाले।
सहायक हवल्दार कुसवाहसहित २५ जना प्रहरी भागेर भिएस निकेतन कलेजमा छिरे, तर त्यहाँ पनि उनीहरुलाई कुटपिट गरियो, लुगा खोल्न बाध्य पारियो। अन्ततः "बाँच्ने अवस्था छैन" भनेर २० भन्दा बढी प्रहरी वाग्मतीमा हाम फाले।
तर, नदीभित्र पनि उनीहरु सुरक्षित हुन सकेनन्। नदीको किनारामा रहेका प्रदर्शनकारीले ढुंगा प्रहार गरेर घाइते बनाइदिए। कुसवाहको टाउको फुट्यो, निधारबाट रगत बग्यो।
उद्धार गर्ने युवा
यही क्रममा कञ्चनपुरका रविचन्द ठकुरी नामका युवा उद्धारकर्ताका रूपमा अगाडि आए। टिकटकमा सक्रिय बडीबिल्डरसमेत रहेका ठकुरीले घाइते कुसवाहलाई नदीबाट निकाले र सडकसम्म सुरक्षित पुर्याए।
उनले भने,
“प्रदर्शनका क्रममा कतिपय कार्यालयमा जलाइएको झण्डा पनि म जोगाएको थिएँ। वाग्मतीमा फसेका प्रहरीलाई देखेपछि मानवता जागेर म उनीहरुलाई बचाउन नदीमै पसेँ।”
प्रहरीमा व्यापक क्षति
उपत्यका प्रहरी प्रमुख एसएसपी शेखर खनालका अनुसार, जेनजी प्रदर्शनका क्रममा उपत्यकामा मात्र १२२ वटा प्रहरी कार्यालय पूर्णरूपमा जले, ९६ वटा आंशिक क्षतिग्रस्त भए।
त्यस्तै, ११७ वटा चारपाङ्ग्रे गाडी पूर्णरूपमा नष्ट भए भने चारवटा गाडीमा आंशिक क्षति पुग्यो।
दुईपाङ्ग्रे सवारीसाधन मात्रै १५८ वटा जलेर खरानी बने। प्रहरी कर्मचारीका निजी गाडीहरू समेत जलेका छन्।
-
Jigyasanepal