काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज (असोज १४ गते) ‘दसैँ विशेष मौसम बुलेटिन–२’ जारी गर्दै यस वर्षको दशैं अवधिभर मनसुनी वायु सक्रिय रहने र भीषण वर्षा हुने चेतावनी दिएको छ।
हाल नेपालमा मनसुन वायुको प्रभाव केही कमजोर भए पनि बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणाली भारतको ओरिसाबाट जमिन प्रवेश गरी मध्य भारततर्फ सर्दैछ। यसबाट नेपालमा जलवाष्पयुक्त मनसुनी वायु थप सक्रिय भई असोज १७ (एकादशी) देखि १९ (त्रयोदशी) सम्म लगातार वर्षा हुने सम्भावना बढेको महाशाखाले जनाएको छ।
📌 वर्षाको पूर्वानुमान
असोज १७ (एकादशी) :
कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड–तराई भूभागमा हल्कादेखि मध्यम वर्षा। यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना।
असोज १८ (द्वादशी) :
कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा। यी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना।
असोज १९ (त्रयोदशी) :
कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा। थोरै स्थानमा भारीदेखि धेरै भारी र एक–दुई स्थानमा अति भारी वर्षा हुने पूर्वानुमान।
⚠ सम्भावित प्रभाव
मौसमविद्हरूका अनुसार निरन्तर वर्षाका कारण :
पहाडमा भूक्षय, बाढी र पहिरोको जोखिम बढ्नेछ।
सडक तथा हवाई यातायात अवरुद्ध हुन सक्नेछ।
दशैं यात्रामा निस्किएका यात्रु तथा किसानहरूलाई ठूलो चुनौती थपिन सक्नेछ।
👉 विभागको आग्रह
दशैंको अन्त्यसम्म मनसुनी वायु सक्रिय हुने भएकाले सबैलाई सतर्क रहन, मौसमको अध्यावधिक जानकारी नियमित रूपमा लिन र सम्भावित जोखिम क्षेत्रका बासिन्दाले अतिरिक्त सावधानी अपनाउन विभागले सुझाव दिएको छ।
-
Jigyasanepal