महोत्तरी। महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका-१०, खयरमारा स्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा अध्ययनरत तीन जना विद्यार्थीहरूले परीक्षा परिणामसँगको असन्तुष्टिका कारण विष सेवन गरेका छन्। सिरहा धनगढीमाई नगरपालिका-१० की १७ वर्षीया रिङ्कु शर्मा, उषा पण्डित र सन्जु यादव यी तीनै विद्यार्थीहरू जियोमेट्री (अमिन) विषयका प्रथम वर्षका छात्रा हुन्।
रिङ्कु शर्माको दुखद मृत्यु भइसकेको छ, भने उषा र सन्जुको उपचार बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा भइरहेको छ। रिङ्कु शर्मा फिजिक्सको पेपरमा असफल भएपछि मानसिक तनावमा परि विष सेवन गरेको बताइएको छ। सन्जु यादवले यसबारे जानकारी दिँदै भनिन्, “रिङ्कुको नतिजा बिग्रिएपछि ऊ मानसिक दबाबमा थिइन्।”
मंगलबार बिहान रिङ्कुलाई अचेत अवस्थामा इलाका प्रहरी कार्यालय बर्दिबासले जंगली क्षेत्रबाट उद्धार गरी अस्पताल पुर्याएको थियो। तर, अस्पताल पुर्याउनु भन्दा पहिले नै उनले बाटोमा ज्यान गुमाइसकेकी थिइन्।
घटनाको सम्बन्धमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल प्रसाद जयसवारले
बताए।
- Jigyasa media