काठमाडौं — नेपालका तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा, प्रधानमन्त्री ओलीले आफ्नो कुलपतिका हैसियतमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा शारदा थपलियालाई शपथ ग्रहण गराए।
शपथ समारोहमा प्रधानमन्त्री ओलीले नवनियुक्त उपकुलपतिहरूलाई शुभकामना दिँदै उनीहरूको कार्यकाल सफल र प्रभावकारी होस् भन्ने आशा व्यक्त गरे। कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, नेपाल सरकारका उच्च अधिकारीहरू, र विभिन्न प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो।
यी उपकुलपतिहरूले आ–आफ्नो विश्वविद्यालयलाई उन्नत बनाउने जिम्मेवारी पाएका छन्, जसले शैक्षिक, अनुसन्धानात्मक, र व्यावसायिक क्षेत्रमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ।
- Jigyasa media