२५ मंसिर, पनौती।
एम्नेष्टी इन्टरनेशनल समूह ७२ पनौतीले ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा "Write for Rights" हस्ताक्षर अभियान सञ्चालन गर्दै मानव अधिकार दिवस भव्य रूपमा मनाएको छ।
यस ऐतिहासिक कार्यक्रममा समूह ७२ का नव-निर्वाचित महिला संयोजक अधिवक्ता जमुना पसछेको नेतृत्वमा हस्ताक्षर संकलन कार्यक्रम सम्पन्न भयो। यस अवसरमा समूहका उपसंयोजक सुदर्शन सुवेदी, सचिव हरिचन्द्र श्रेष्ठ, कोषाध्यक्ष रामकुमार बस्नेत, सहसचिव सन्तोष हुमागाई, र सदस्यहरू अधिवक्ता तारा श्रेष्ठ, प्रताप ताम्राकार, र विष्णु खिम्बन्जारको विशेष भूमिका रह्यो।

कार्यक्रममा काभ्रे सेवा समाजका पूर्व अध्यक्ष तथा यस मिडियाका प्रमुख सल्हाकार केशब थापा, पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापा, संविधान सभा सदस्य रामहरि सुवेदी, र सामुदायिक सहकारी संस्थाका कोषाध्यक्ष कृष्ण थापालगायत विशिष्ट व्यक्तिहरूको उपस्थितिले कार्यक्रमलाई थप भव्य बनायो।
यसैगरी, एम्नेष्टी समूहका पूर्व संयोजकहरू शम्भुलाल श्रेष्ठ, राजन श्रेष्ठ, उद्धब हुमागाई, र निवर्तमान संयोजक राजेश कुमार श्रेष्ठले पनि आफ्नो उपस्थिति जनाउँदै कार्यक्रमको महत्त्वबारे चर्चा गरे। स्थानीय समाजसेवीहरू, अधिकारकर्मीहरू, र अन्य प्रतिष्ठित व्यक्तिहरूको सहभागिताले यो कार्यक्रमलाई सफल बनाएको आयोजकहरूले बताए।

हस्ताक्षर अभियानको उद्देश्य:
"Write for Rights" अभियान मार्फत मानव अधिकार उल्लंघनको शिकार भएका व्यक्तिहरूलाई न्याय दिलाउन र मानव अधिकारको विषयमा विश्वव्यापी चेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रमले मानव अधिकारको रक्षा र सम्वर्द्धनमा सामूहिक प्रयासको आवश्यकताबारे चेतना जगाएको छ। सहभागीहरूले हस्ताक्षर गर्दै मानव अधिकार र न्यायको आवाज बुलन्द गरे।
समूह ७२ ले मानव अधिकारका पक्षमा यस्ता गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। "Write for Rights" अभियानले मानव अधिकार र सामाजिक न्यायको महत्त्वलाई स्थानीय र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न मद्दत पुर्याएको आयोजकको विश्वास छ।
- Jigyasa media